यौन दुव्र्यवहार घटनाः दुई शिक्षक पक्राउ

साझाकुरा
२०७९ बैशाख ४, आईतवार ०९:०७

हेटौंडा बागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालयका बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका थप दुई शिक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, फापरबारीले शिक्षकद्वय लोकबहादुर विक र रुद्रबहादुर विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । यसअघि २५ चैतमा अर्का आरोपी शिक्षक हेमबहादुर विक इप्रका फापरबारीमै उपस्थित भएका थिए । ४ बालिकाको प्रतिनिधित्व गर्दै २ अभिभावकले गत बिहीवार दिएको किटानी जाहेरीपछि प्रहरीले उनीहरुलाई निरन्तर खोजी गरिरहेको थियो । गाउँमै लुकेका लोकबहादुर र रुद्रबहादुरलाई शुक्रबार साँझ नियन्त्रणमा लिएर सोही दिन बेलुका जिल्ला प्रहरीमा बुझाएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती–८ शान्तिपुरमा रहेको जनता माविका कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने बालिकामाथि तीन शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लागेको हो । पीडित बालिकाहरुले कक्षा कोठामा पढाउने क्रममा शिक्षकहरुले संवेदनशील अंगमा हात लैजाने गरेको आरोप लगाएका छन् । जनता माविमा ११ चैतदेखि २० गतेभित्र १५ जना बालिका र ६ जना अभिभावकले यौन दुव्र्यवहार भएको आरोप लगाउँदै कारबाहीका लागि उजुरी दिएका थिए । उजुरीउपर कारबाही गर्नुको सट्टा विद्यालयले राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकलाई राखेर घटना मिलाउने प्रयास गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*