आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी

साझाकुरा
२०७९ बैशाख ४, आईतवार ०९:१४

हेटौंडा, ३ वैशाख÷ निर्वाचन आयोगका आयुक्त राम प्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गर्दै स्थानीय तहको निर्वाचनलाई बिथोल्न खोज्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । हेटौंडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्य राजनीति दलका नेतृत्वहरूबाटै निर्वाचन प्रक्रियामाथि आशंका फैलाउने अभिव्यक्ति आएको प्रति आयोगको ध्यानाकर्षण भएको भन्दै त्यस्तो अभिव्यक्ति नदिन भण्डारीले आग्रह गरे ।

देश निर्वाचनमय भइसकेको अवस्थामा राजनीतिक दलहरुले नै निर्वाचन नहुने जस्तो अभिव्यक्ति दिन नमिल्ने भन्दै त्यस्तो अभिव्यक्ति दिनेलाई कारवाही गर्ने तयारीमा आयोग रहेको उनको भनाइ थियो । ‘हामीले राम्रोसँग नोट गरेका छौ, हामी कारबाहीमा जानेछौं’ उनले भने ‘देश निर्वाचनमय भएको छ, यो निर्वाचन नभए हामी २० बर्ष पछि धकेलिने छौ ।’आयोग कुनैपनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा रहेको उनले बताए । ‘निर्वाचन नभए लोकतन्त्रले हार्छ, लोकतन्त्र बचाउनु हामी सबैको कर्तव्य हो’ उनले भने । भ्रम र आशंका फैलाउने नेता आफैं जनतासामु जान डराएको भण्डारीको भनाइ छ । लोकतन्त्र जीवित राख्ने प्रक्रिया नै निर्वाचन भएकोले तोकिएको समयमा निर्वाचन हुनैपर्ने उनले बताए । आयुक्त भण्डारीले आयोगले मुलकाम सकिसकेको बताए ।

जनताले बिश्वास गरेर आफ्नो मत दिने भनेको आफूमाथि शासनको अधिकार दिएको नभई आफ्नो समस्यामा सहजीकरण गर्न मत दिने भएकोले यसलाई सघाउन उनले सबैलाई आग्रह गरे ।
आयुक्त भण्डारीले सञ्चारकर्मीलाई पनि आचारसंहितामा बस्न आग्रह गरे । आयोगले आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश, प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले आयोगले सबै तयारी सकेको बताए । स्वतन्त्र र भयरहित निर्वाचन गर्न आयोग लागिपरेको पोखरेलले बताए । स्थानीय तहको निर्वाचन आउन करिब २७ दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोगको बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरका मिडियालाई निर्वाचनलक्षित अभिमुखीकरण कार्यक्रम दिइएको छ ।

अभिमुखीकरणमा निर्वाचन आयोगको प्रदेश कार्यालयका प्रमुख लुम्बानाथ चापागाईले कार्यक्रमबारे जानकारी दिएका थिए । यसैगरी प्रेस काउन्सिल नेपालका
चीरञ्जीवी मास्केले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथामबारे सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति सदस्य सुनिल खड्काले निर्वाचनसँग सम्बन्धित समाचार संकलन र रिपोर्टिङका विषयमा सहजीकरण गरे । निर्वाचनका मूख्य सरोकारवालाहरु, निर्वाचन कस्तो हुनुपर्छ, मिडियाको प्रभाव, निर्वाचनका बेला मिडियाको भूमिका, निर्वाचनका बेला अपनाउनुपर्ने सचेतना, निर्वाचनमा मिडियाको अनुगमन जस्ता विषयमा खड्काले जानकारी दिए ।

आफूले लेखेको समाचार पाठकलाई पनि विश्वसनीय हुनुपर्ने, बार्गेनिङ पत्रकारिता नभई निष्पक्ष पत्रकारिता गर्नुपर्ने उनको धारणा रहेको छ । यस्तै, उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचारसंहिता २०७८ बारे सहजीकरण गरे । निर्वाचन आचारसंहिता पूर्णपालना बिना विश्वसनीय निर्वाचन नहुने बताए । निर्वाचनका लागि नैतिक व्यवहार र आचरण महत्वपूर्ण हुने जानकारी दिए ।नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले विगतदेखि निर्वाचनलक्षित सूचनाको मूल्य बढाउन आयोगलाई आग्रह गरे । कार्यक्रममा सहभागी पत्रकारहरुले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्न नसकेको गुनासो गरेका छन् । निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिता उल्लंघन गर्ने दल र उम्मेदवारलाई आयोगले कारवाही पनि गर्नुपर्नेमा सञ्चारकर्मीले जोड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*