विपन्न ८२ घर परिवारलाई जस्तापाता

साझाकुरा
२०७९ बैशाख ५, सोमबार ०९:४१

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई घरमा खरको छाना हटाएर जस्तापाता दिने कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।वर्षामा पानी चुहिने खरका छानामा बसेर दैनिकी काट्दै आएका विपन्न परिवारलाई गाउँपालिकाले जस्तापाता दिँदै आएको हो । सुरक्षित नागरिक आवास निर्माणअन्तर्गत् गाउँपालिकाले क्रमागतरुपमा हालसम्म ८२ वटा घरमा खरको छाना हटाएर जस्तापाता हाल्दिएको छ ।सबैभन्दा धेरै ८ नम्बर वडाको बुढीचौरमा ४८ घरको खरको छाना हटाएर जस्तापाता दिइएको कार्यक्रमका फोकल पर्सन सूर्यबहादुर गुरुङले जानकरी दिए । उनका अनुसार आर्थिक वर्ष ०७६÷०७७ मा बुढीचौरका ४८ घरले जस्तापाता पाएका थिए भने थप ४ घरलाई जस्तापाता दिनुपर्ने देखिएको गुरुङले बताए ।

छुटेका उक्त घरको गाउँपालिकाले अनुगमन गरिसकेको छ भने लाभग्राहीले सम्झौता गर्न बाँकी छ । गाउँपालिकाले अनुगमन पश्चात् एकसय ४० घरमा जस्तापाता हाल्नुपर्ने निक्र्यौल गरेको गुरुङले बताए । मकवानपुरगढीको १ नम्बर वडामा पहिचान भएका ४० खरको छाना भएको घरमध्ये १२ वटाले मात्रै जस्तापाता हालेका छन् । बाँकी २८ घरले पालिकामा सम्झौता नगरेको कार्यक्रमका फोकल पर्सन गुरुङले जानकारी दिए । २ नम्बर वडामा ३ जनाले जस्तापाताले घर छाइसकेका छन् । पहिचान भएका १० घरमध्ये ७ वटा घरले सम्झौता गरेका छैनन् ।

३ नम्बर वडाको एउटा घरले मात्रै जस्तापाता लगेको उनले बताए । ४ नम्बर वडाको पहिचान भएका ९ घरमध्ये ४ वटाले मात्रै जस्ता हालेको र बाँकी ५ वटा सम्झौता गर्न नआएको जनाइएको छ । ५ नम्बर वडामा पनि पहिचान भएका ९ घरमा ५ घरले जस्तापाता लगेको र ४ घर सम्झौता गर्न नआएको गुरुङले बताए ।६ नम्बर वडामा एउटा घरले मात्रै खरको छाना हटाएर जस्तापाता हालेको गाउँपालिकाको अभिलेखमा छ । ७ नम्बर वडामा २१ घरमध्ये ६ वटाले मात्रै खरको छाना हटाएर जस्ता हालेको र बाँकी घरले सम्झौता गरेका छैनन् । पालिकाभित्रका अझै पहिचान भएका ५७ घरले खरको छाना हटाएर जस्तापाता हाल्न बाँकी छ । गाउँपालिकाले खरको छाना हटाएर जस्तापाता हालेपछि मात्रै भुक्तानी दिने गरेको गुरुङ बताउँछन् । धेरैले पहिल्यै पैसा माग्ने गरेको र जस्तापाता नहाली पैसा दिन नसकिने भएकाले धेरै सम्झौता गर्न नआएको गुरुङले बताए ।

पहिले पैसा दिँदा जस्तापाता किन्न छोडेर अन्यत्रै खर्च गर्ने देखिएका कारण गाउँपालिकाले कार्यक्रम कार्यान्वयनको सुरुवात चरणबाटै भुक्तानी प्रक्रिया जस्ता हालेपछि दिने गरी बनाएको गुरुङले बताए । गुरुङले अझै छुटपुट भएका खरका छानाको घरलाई जस्तापाता दिन बजेट रहेको बताए ।छुटेका लाभग्राहीले सम्झौता गर्न नआए चालू आर्थिक वर्ष २०७८÷०७९ मा जस्तापाताका लागि आएको बजेट फिर्ता जान सक्ने गाउँपालिकाको प्रशासन शाखा प्रमुखसमेत रहेको कार्यक्रम फोकल पर्सन गुरुङले जनाए ।गाउँपालिकाले वडा नम्बर १, २, ३ र ४ का पहिचान भएका विपन्न परिवारलाई ६ लाख ३० हजार रुपियाँ जस्तापाताको भुक्तानी दिएको हो ।यसैगरी, ५, ६, ७ र ८ नम्बर वडामा १९ लाख १२ हजार भुक्तानी दिई हालसम्म गाउँपालिकाले सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा २५ लाख ५० हजार खर्च गरेको गुरुङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*