अटो व्यवसायीले आफूखुसी बढाए भाडा
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाभित्र सञ्चालन भएका अटो व्यवसायीहरु समूह गठन गरेर संगठित भएका छन् । व्यवसायीहरु संगठित भएसँगै सर्वसाधारणको ढाड सेक्ने गरी आफूखुशी भाडा निर्धारण पनि गरेका छन् ।अटो व्यवसायीहरुले आफूखुशी भाडा निर्धारण गरेपनि स्थानीय सर्वसाधारणहरु असन्तुष्ट भएका छन् । करिब ७ किलोमिटरको दूरी रहेको हेटौंडादेखि मक्राञ्चुली आएको भाडा अटोले अब एक सयदेखि डेढसयसम्म निर्धाण गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेपनि निर्धारण गरिएको भाडा अत्यधिक बढी भएको भन्दै सर्वसाधारणले बिरोध जनाएका छन् ।
स्थानीयले गाउँपालिका र वडालाई भाडा बृद्धि सम्बन्धी सहजीकरण अपिल पनि गरेका छन् । गाउँपालिकाअन्तर्गत् यातायात समितिसँग अनुमति लिएरमात्रै भाडा बृद्धि गर्नुपर्ने हुन्छ । गाउँपालिकाको यातायात समिति निष्क्रिय भएको बेला अटो व्यवसायीले फाइदा उठाएका हुन् । व्यवसायीहरुको शनिबार भएको भेलाले हेटौंडाको अटो पार्कबाट भञ्ज्याङसम्म ७०, गढी–४ धरमचुलीसम्म ८०, रुद्र बाटिकासम्म ९०, बन्दडाँडासम्म १ सय, ज्वालादेवीसम्म १ सय, भानु माविसम्म १ सय, मकवानपुरगढी गाउँपालिका कार्यालयसम्म १ सय २०, देवीडाडाँ स्कुलसम्म १ सय ५० र पिन डाँडासम्म १ सय ५० भाडा निर्धारण गरिएको छ ।
यसैगरी, मकवानपुरगढी–३ मक्राञ्चुलीमा अटो सञ्चालकहरुको भेलाले कृष्णप्रसाद बन्जाराको अध्यक्षतामा आटो व्यवस्थापन तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ठाकुर न्यौपाने, सचिवमा सुदर्शन अर्याल, सहसचिवमा सीताराम सापकोटा, कोषाध्यक्षमा राम दहाल, सदस्यहरुमा कमल लोप्चन, दिनेश मगर, रामकृष्ण न्यौपाने, सन्तोष बोलखे, रुपेश चौरेल र मीनबहादुर भ्लोन रहेका छन् । भेलाले सचिवालय समिति पनि गठन गरेको छ । भेलाले लेखा समिति र सल्लाहकार समिति गठन गरेको जनाइएको
छ ।







