अनुशासन समिति संयोजकमा दाहाल
हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले प्रभात दाहालको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ ।मंगलबार पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेकै दिन अनुशासन समिति गठन भएको हो । कांग्रेस मकवानपुरको २० चैतमा बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल र रामबाबु बानियाँ र अर्जुन चौलागाईं सदस्य रहेको ३ सदस्यीय अनुशासन समिति गठन गरिएको जिल्ला सचिव भीमसेन महतले जानकारी दिएका छन् ।
कार्यसम्पादनको बैठकले कांग्रेस जिल्ला समितिको भवनमा विना जानकारी, मागदावी वा विमतीको विषय जिल्ला कार्यसमितिलाई नराखी गुण्डागर्दी शैलीमा लगाइएको तालाबन्दीको घोर आपत्तिसमेत
गरेको छ । मंगलबार पार्टी कार्यालयमा नगर समितिको बैठक बसिरहेको बेला हेटौंडाको मेयर पद कांग्रेसले पाउनुपर्ने माग राख्दै कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दीसहित नाराबजी पनि गरेका थिए। नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीको नेतृत्वमा रहेको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो । पार्टी कार्यालयमा लगाएको ताला करिब २ घण्टापछि जिल्ला सभापति बुद्ध लामाले खोलेका थिए । लामाले पार्टी कार्यालयमा तालाबन्दी गर्नेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।







