अस्पतालमै पार्इंंदैन सिटामोल र जीवनजल
हेटौंडा- गाउँको ठूलो स्वास्थ्य संस्थामध्ये एक मनहरी अस्पतालमा सामन्य औषधि सिटामोल र जीवनजलसमेत पाउन छाडेको छ ।सरकारले निःशुल्क दिँदै आएको सिटामोल र जीवनजलसमेत नपाउँदा मनहरी गाउँपालिबासी समान्वय उपचारबाट बञ्चित हुनु परेको हो । शरिरमा तापक्रम बढ्दा र झाडा पखाला लाग्दा सरकारी स्वामित्वको मनहरी अस्पतालमा औषधि नपाएपछि गाउँबासी निजी मेडिकलबाट खरिद गर्न बाध्य भएका हुन् । सिटामोल र जीवनजल मात्र हैन, मनहरी अस्पताल चिकित्सक विहीनपनि बनेको छ । यसअघि अस्पतालमा कार्यरत् डाक्टर अञ्जन जंग थापाको सुरुवा भएपछि मनहरी अस्पतालमा चिकित्स नभएका हुन् ।
संविधानत अधिकार सम्पन्न मानिएको स्थानीय सरकार मातहतमा सञ्चालित मनहरी अस्पतालमा सामान्य औषधिसमेत नपाउँदा स्थानीयले बिरोध गरेका हुन् । सरकारले ७० थरीका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । संघीय सरकारले स्वास्थ्य संस्थालाई उपलब्ध गराउने औषधिवापतको रकम स्थानीय सरकारको खातामा पठाउने गर्छ ।संघीय सरकारले पठाएको रकम अपुग भएमा स्थानीय सरकार आफैले थपेर भएपनि औषधि खरिद गरी आफूमातहतका स्वास्थ्य संस्थालाई उपलब्ध गराउनुपर्ने हुन्छ । तर, मनहरीमा उक्त रकमसमेत कार्यान्वयन नभएको पाइएको छ । सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुमा ठेक्का प्रक्रियामार्फत् औषधि खरिद गरी पठाउनुपर्नेमा मनहरी गाउँपालिकाले हालसम्म औषधि व्यवस्थापन गर्न नसकेको हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक टीकाराम अधिकारीले आन्तरिक समस्याका कारण औषधि खरिदका लागि ठेक्का प्रक्रियामा ढिलाई भएको बताए । उनले समस्या बारे जानकार भइरहेको भन्दै तत्काल ठेक्का प्रक्रिया अघि बढाउने बताए ।मनहरी अस्पतालमात्र नभई, गाउँपालिकाभित्रका अन्य ९ वटा स्वास्थ्य संस्थामा औषधि अभाव भएको पाइएको छ । मनहरी अस्पतालमा गत आर्थिक वर्षमै खरिद गरिएको औषधिहरु मौज्दात रहेको सिनियर अहेव शिवराम बानियाँले जानकारी दिएका छन् ।उनले अस्पतालमा निःशुल्क पाइने ३० प्रतिशत औषधि रहेको बताए । मनहरीको ३ नम्बर वडामा स्वास्थ्य चौकी छ भने अन्य वडामा आधारभूत स्वास्थ्य इकाईहरु गाउँपालिकाले स्थापना गरेको छ ।







