विकटमा विद्यार्थीका दुःख, ५ घण्टा हिँडेर विद्यालय
हेटौंडा, ९ वैशाख÷राक्सिराङ–९ तलाङकी कोपिला चेपाङ बिहान ४ नबज्दै उठ्छिन् । उठ्ने बित्तिकै खाना पकाएर उनी एक भारि घाँस काटेर ल्याउँछिन् ।घाँसको भारी नबिसाउँदै उनलाई खाना खाएर विद्यालय दौडिन हतार हुन्छ । बिहान साढे ७ बजेसम्म घरबाट ननिस्किए उनको पढाई छुट्छ । त्यसैले उनी बिहान हतार हतार काम सकेर पढन् जान निस्किहाल्छिन् । कक्षा ६ मा अध्ययनरत् उनी विद्यालय आउजाउ गर्न दैनिक ५ घण्टा हिँड्ने गरेकी छन् । १० बजे स्कुल पुग्न उनी घरबाट बिहान साढे ७ बजे नै निस्किने गरेकी छन् ।
बिहान सबेरै उठेर खाना पकाएर खाइसकेपछि उनी साथीहरुसँग साढे दुई घण्टा बगरको बाटो हिँडेर विद्यालय पुग्नु दैनिक नै हो । खोला, बगर र जंगलको बाटो छिचोल्दै स्कुल पुगेकी उनी साँझ फेरि त्यहि बाटो साढे २ घण्टा हिँडेर घर पुग्छिन् । स्कुल आउजाउ गर्न उनले दैनिक ५ घण्टा हिड्नुपर्ने हुन्छ ।स्कुल पुग्दा पुग्दै उनलाई भोकमात्रै लाग्दैन थकाईले निन्द्रा पनि लाग्छ । पढ्ने उत्साह बोकेर घरबाट निस्किएकी उनी विद्यालय पुग्दा थकित हुने गरेको सुनाउँछिन् । यसरी उनी स्कुल जाने हिउँदमा मात्रै हो । वर्षा लागेपछि खोलामा बाढी आउने गर्छ । जसकारण उनी स्कुल नै जान पाउँदिनन् । ‘स्कुल धेरै टाढा छ सुनसान खोला र बगरको बाटो हिँडेर जानुपर्छ’, उनले भनिन्– ‘साथीहरु नहुँदा स्कुल जान पनि सकिँदैन’, गाउँमा नजिकै स्कुल नहुँदा पढ्नलाई समस्या भएको उनको गुनासो छ । उनले आफू हिउँदमा विद्यालय जाने गरेको भएपनि वर्षात्मा भने पढ्न जान नपाउने दुखेसो पोखिन् ।
‘वर्षामा पानी परेपछि बगरमा ठूलो बाढी आउँछ, स्कुल जाने बाटो नै हँुदैन, त्यसैले हामी वर्षामा मात्रै पढ्न जान्छौँ’, उनले गुनासो गरिन् । घरबाट स्कुल जाने बाटो बगर र जंगल भएकोले जंगली जनावरको समेत डर भएको उनले बताइन् । उनले २÷४ जना साथमा नलिइकन विद्यालय जान सक्ने अवस्थासमेत नरहेको उनको भनाइ छ । स्कुल टाढा भएकै कारण आफ्ना धेरै साथीहरुले पढाई छोडेको उनले बताएकी छन् । बिहान बेलुका घरमा पनि काम गर्नुपर्नेमा स्कुल टाढा भएकोले काम गर्नै नभ्याउने भएपछि पढाई छोड्नेहरुको संख्या धेरै रहेको उनी सुनाउँछिन् । ‘३ कक्षासम्म एउटा स्कुल पढेपछि ५ कक्षासम्म अर्को, ८ कक्षा र १० कक्षासम्म अर्को गरेर विद्यालय पनि फेरिरहनु पर्छ’, उनले भनिन् ।
उनका अनुसार कक्षा बढेसँगै स्कुल पढ्न जाने दूरी पनि बढ्ने गरेको छ । स्कुल टाढा भएकोले पढ्ने जोश पनि हराउने गरेको उनले दुखेसो गरिन् । रोजनासँगै डोल्माको दैनिकी पनि स्कुल आउजाउमा नै बित्छ । बिहान सबेरै घरबाट हिँड्ने उनी स्कुलबाट फर्किदा झमक्क अध्यारो भइसक्छ ।गाउँमा अझै राम्रोसँग विद्युतको व्यवस्था नभएको हुँदा राति पढ्न पनि नपाइने उनको दुखेसो छ । खोला, जंगल र बगरको बाटो दैनिक ५ घण्टा हिँडेर संधै पढ्न जाने सम्भव नहुने उनी बताउँछिन् । उनलाई स्कुल नजिकै नभएकोमा दुःख लाग्ने गरेको बताइन् । यस्तो अवस्था रोजिना र डोल्माको मात्रै होइन राक्सिराङ गाउँपालिकाको अधिकांश बालबालिकाहरु विद्यालय टाढा भएकै कारण पढाइबाट बञ्चित छन् ।
त्यहाँका बालबालिकालाई घरबाट विद्यालय पुग्नै सास्ती पर्ने गरेको छ । पातलो बस्ती भएको राक्सिराङमा सहजरुपमा विद्यालयको पहुँच नहुँदा बालबालिकाहरु पढाईबाटै बञ्चित हुने गरेका हुन् ।
अति सीमान्तकृत समुदायका चेपाङहरु अशिक्षा र गरिबिको मारमा भएकोले पढाई उनीहरुको प्राथमिकतामा समेत रहेको पाइँदैन । त्यसमा पनि विद्यालय पुग्नै घण्टौँ हिँड्नुपर्ने भएपछि माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु कमै भेटिने गरेका छन् । राक्सिराङका बालबालिकाहरुले विद्यालय पुग्न भीर, उकालो, खोला, बगर र जंगल छिचोल्नु पर्ने हुन्छ । त्यसैले त्यहाँका बालबालिका पढाई छोडेर घरमा अन्नको अभाव हुने भएकाले गिठ्ठा भ्याकुर र कन्दमुल खोज्न जाने गरेका छन् ।
शिक्षाको ज्योतिबाट निकै टाढा रहेका राक्सिराङको चेपाङ समुदायमा अविवाहित २० वर्षको किशोरी भेटिन पनि मुस्किल पर्नेगर्छ ।त्यहाँका अधिकांश बालिकाहरुले पढाई छोडेर सानै उमेरमा विहे गर्ने गरेका छन् भने बालकहरु ट्याक्टर चलाउने, ढुंगा, गिट्टी, बालुवा लोड÷ अनलोड गर्ने, कामको खोजीमा बाहिर जानुको साथै गाँजा ओसारपसारमा समेत फस्ने गरेका छन् ।







