भण्डारी र आश्रितको प्रतिमा तोडफोड
हेटौंडा- हेटौंडा–९ स्थित दिव्य बाल उद्यानमा निर्माण गरिएको एमालेको स्वर्गीय जननेता मदन भण्डारी र तत्कालीन पार्टी संगठन विभाग प्रमुख जीवराज आश्रितको प्रतिमा तोडफोड गरिएको छ ।
निर्माणधीन बाल उद्यानमा भण्डारी र आश्रितको अर्धकदको प्रतिमा गत असारमा मात्रै उद्घाटन गरिएको थियो । वडा कार्यालयले निर्माण गरेको बाल उद्यानमा बिहीवार राति अज्ञात समूहले भण्डारी र आश्रितको प्रतिमा निकालेर फाल्नुका साथै फुटाएको छ ।
भण्डारीको शीर मात्रै भाँचेर फालिएको अवस्थामा फेला परेको थियो भने आश्रितको अर्धकदको प्रतिमा उखालेर भुँईमा फालिएको थियो । शुक्रबार बिहान पार्कमा मर्निङवाक गर्न गएका स्थानीयले प्रतिमा फालेको अवस्थामा भेटेपछि वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीसहित पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।वडाध्यक्ष भण्डारीले राजनीतिक पूर्वाग्रह राख्नेहरुले प्रतिमा तोडेको हुन सक्ने आशंका गरे । उनले पार्कभित्र थुप्रै संरचनामा सग्लो हुनु र प्रतिमा तोडिनु राजीतिक पूर्वाग्रह कारण रहेको दाबी गरेका छन् ।
वडाध्यक्ष भण्डारीले घटनाका दोषिलाई कारबाही गर्न माग गरेका छन् ।एमालेनिकट राष्ट्रिय युवा संघ, नेपाल मकवानपुरले अर्धकदको प्रतिमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । युवा संघ मकवानपुरका कार्यवाहक अध्यक्ष कृष्ण लामिछानेले एक विज्ञप्ती जारी गर्दै हेटौंडा–९ दिव्य बाल उद्यानमा रहेको मदन–आश्रितको शालिक तोडफोड भएकोमा युवा संघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छ । मदन भण्डारी फाउन्डेसनले पनि नेता भण्डारी र आश्रितको शालिक तोडफोड घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
फाउन्डेसकी सचिव पेम्बा लामाले शुक्रबार विज्ञप्ति जारी गर्दै शालिक तोडफोडको छानबिन गर्दै दोषीमात्र कारबाही गर्न माग गरेकी हुन् । ‘लोकतन्त्रको उच्चतम अभ्यासको रुपमा रहेको स्थानीय निर्वाचनको प्रकृया सुरु भएसँगै घटेको यो घटनाले लोकतान्त्रिक शक्तिहरुलाई चुनौति दिएको अनुभूति भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।







