तीन मेयरसहित ८६ जनाले लिए उम्मेदवारी फिर्ता
हेटौंडा- बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका ८६ जनाले शुक्रबार उम्मेदरी फिर्ता लिएका छन् ।बैशाख ११ र १२ गते स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका तीन मेयरसहित ८६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उक्त समयमा जिल्लाको विभिन्न पालिकाबाट उम्मेदवारी दिएका ८६ जना निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका तीनजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
मेयरमा जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले मेयरबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपमेयरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुसँगै वडा अध्यक्ष र सदस्यमा गरी ४४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
वडाध्यक्षबाट उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसका युवा नेता रविन्द्र घिमिरे पनि रहेका छन् । पार्टीले हेटौंडा–२ को टिकट दिएपनि उम्मेदवार बन्न नपाएका घिमिरेले स्वतन्त्र रुपमा वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । कांग्रेसले हेटौंडा–२ को वडाध्यक्ष विष्णुगोपाल महर्जनलाई आधिकारिक मानेपछि घिमिरे व्याक भएका हुन् । पार्टीले उनलाई जिल्ला सदस्य समेत मनोनित गरेको छ । उनले आफूले उम्मेदवारी झिकेपनि पार्टीलाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफू निकटका कार्यकर्तालाई पनि गठबन्धनको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरेका छन् ।
त्यस्तैगरि नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका शंकर न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेको भन्दै उनले उम्मेदवारी दिएका थिए । कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका लागि पहल गरेका थिए ।
उनले पार्टीले टिकट वितरणलाई व्यवस्थित नबनाएको प्रति दुःख व्यक्त गरेका थिए । न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उम्मेदवार थिए । उनी थोरै मतान्तरले पराजित भएका थिए । मकवानपुरको बकैंया गाउँपालिकामा १८ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । मनोनयन फिर्ता लिनेमा दुई जना अध्यक्षका उम्मेदवार, ७ जना वडाध्यक्षका उम्मेदवार र ९ जना वडासदस्यका उम्मेदवार रहेको निर्वाचन अधिकृत कार्यालय बकैंयाले जनाएको छ ।
कार्यालयका अनुसार कृष्ण घिमिरे र लक्ष्मीमाया माझीले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका छन् । घिमिरेले स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए भने माझीले नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएकी थिइन् । भागवण्डामा बकैया कांग्रेसले पाएको हुनाले गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका कांग्रेसका धर्मराज लामिछानेलाई सघाउने भन्दै माझिले उम्मेदवारी फिर्ता लिएकी हुन् । त्यस्तै गाउँपालिका वडा नम्वर २ का कर्णबहादुर स्याङ्तान, वडा नम्वर ४ का दीपक कार्की, वडा नम्वर ५ का रामबहादुर थिङ, सेतेलाल गोङवा, वडा नम्वर १० का आइत सिं मोक्तान, वडा नम्वर ११ का लोकमान गोले र वडा नम्वर १२ का संजय लामा डिम्डुङले वडाध्यक्षको उम्मेदवारी फिर्ता दिएका हुन् ।
त्यसैगरी महिला वडा सदस्यतर्फ वडा नम्वर २ का कल्पना वाईबा र वडा नम्वर १० का पातली माया गोले, दलित महिला वडा सदस्यतर्फ वडा नम्वर ४ का दुर्गा विश्वकर्मा, खुल्ला वडासदस्यतर्फ वडा नम्वर २ का नेमशी बल, बाबुलाल जिम्बा, वडा नम्वर ४ का सुमन घिमिरे र प्रकाश बस्नेत, वडा नम्वर ५ का जमबहादुर तामाङ र वडा नम्वर ७ का खोमबहादुर थापामगरले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा ८ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । दुई जना अध्यक्षका उम्मेदवार, चार जना वडाध्यक्षका उम्मेदवार र दुई जना वडासदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालय इन्द्रसरोबरले जनाएको छ ।कार्यालयका अनुसार कुन्साङ लामा र दीपककुमार ठकुरीले अध्यक्षको मनोनयन फिर्ता लिएका छन् । त्यस्तै गाउँपालिका वडा नम्वर २ का रत्नबहादुर थापामगर, वडा नम्वर ३ काराजनकुमार ठकुरी, वडा नम्वर ४ का सिंगबहादुर लामा र वडा नम्वर ५ का राजन लामाले वडाध्यक्षको उम्मेदवारी फिर्ता दिएका हुन् । त्यसैगरी वडासदस्यतर्फ वडा नम्वर २ का अरुण तामाङ र वडा नम्वर २ का ईनोद लामाले उम्मेवदवारी फिर्ता दिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि उमेदवारी दिएकामध्ये १५ जनाले फिर्ता लिएका छन् ।
फिर्ता लिनेमध्ये नेकपा एकीकृत समाजवादीका ९ जना छन् । राप्रपाका ३ जना, मंगोल नेशनल अर्गनाइजेशनका १ जना र स्वतन्त्र २ जना छन् । एकीकृत समाजवादीका तर्फबाट १ नम्वर वडाका उमेदवार सानुकाजी गोपाली, वडा नम्बर ४ का अध्यक्ष पदका उमेदवार अभिशेष बलसहित सबै सदस्य, वडा नम्बर ७ का अध्यक्ष पदका उमेदवार हरिबहादुर स्याङ्तानलगायत छन् ।यसैगरी राप्रपाका तर्फबाट उमेदवारी दिएका वडा नम्बर १० का अध्यक्षका उमेदवार प्रेम थापासहित कल्याणकुमार अर्याल र २ नम्बरका सदस्य पदका उमेदवार पुरुषोत्तम कार्कीले उमेदवारी फिर्ता लिएका छन् । यसैगरी वडा नम्वर ४ का अध्यक्ष पदका स्वतन्त्र उमेदवार बिनोद केसी र ३ का अध्यक्ष पदका स्वतन्त्र उमेदवार मनिष अधिकारीले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत तीर्थराज भट्टराइले जानकारी दिए ।
अब वडा नम्बर ८ मा टिकाराम रुम्बा र ९ का सरोजकुमार रेग्मी मात्र अध्यक्ष पदमा स्वतन्त्र उमेदवार रहेका छन् । रुम्बा निवर्तमान वडा अध्यक्ष हुन् । थाहानगरमा कुल ६२ पदका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका गरि कूल २५५ जनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये नेकपा एमाले वडा नम्बर ५ का दलित महिला सदस्य निर्विरोध निर्वाचित र १५ जनाले फिर्ता लिएपछि अब २३९ जनाले निर्वाचनम भाग लिनेछन् ।
हेटौंडा १ मा कांग्रेसलाई समाजवादीको साथ
हेटौंडा- नेकपा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरपालिका–१ को वडाध्यक्षका उम्मेदवार लोकबहादुर घिसिङले उम्मेदवारी फिर्ता लिएका छन् । घिसिङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका सविन न्यौपानेलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।उनले आफूले उम्मेदवारी झिकेपनि न्यौपानेलाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । घिसिङले आफू निकटका कार्यकर्तालाई पनि गठबन्धनको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरेका छन् । घिसिङले उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गरेकोमा १ नम्वर वडाध्यक्षका उम्मेदवार न्यौपानेले धन्यावाद दिए । उनले आफूले सबैसँग सहकार्य गरेर काम गर्ने पनि बताए ।







