उद्योग वाणिज्य संघद्वारा प्रहरीलाई ज्याकेट सहयोग
हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई एक सय १० थान ज्याकेट सहयोग गरेको छ ।संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय, हेटौंडा–१० मा गई ज्याकेट हस्तान्तरण गरेको हो । टोलीमा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की, श्रीकृष्ण कर्माचार्य र कार्यसमिति सदस्य तेजराज अधिकारीको सहभागिता रहेको थियो । संघले शुक्रबार दुईवटा बस्तुगत संघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान पनि गरेको छ ।
दामोदर प्रसाद अटलको अध्यक्षतामा रहेको हेटौंडा अटोमोबाइल एशोसिएशन र राजु नेपालको अध्यक्षतामा रहेको मकवानपुर मुद्रण उद्योग संघलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बस्तुगत संघहरुको उत्साह बढाउन र आपसी सम्बन्ध सुमधुर बनाउन स्वागत कार्यक्रमको थालनी गरिएको अध्यक्ष गुप्ताले कार्यक्रममा बताए । त्यसैगरी बस्तुगत संघका अध्यक्षहरुले स्वागत ग्रहण गर्दै स्वागत तथा सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै बस्तुगत संघका समस्यहरु हल गर्न मकवानपुर उद्योग वाणिज्य संघले पहल गर्ने विश्वास लिएको बताए । कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, बस्तुगत संघका अध्यक्ष दामोदर प्रसाद अटल र राजु नेपाल, संघका उपाध्यक्ष राजु अधिकारी, सचिव माधव ज्ञवाली र कार्यसमिति सदस्य प्रदिप अर्यालले मन्तव्य राखेका थिए ।







