‘ड्रग डिटेक्ट किट’मार्फत् लागूऔषध सेवन परीक्षण
लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरुको पहिचान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ‘ड्रग डिटेक्ट किट’मार्फत लागूऔषध सेवन परीक्षण शुरु गरेको छ । आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरुको पहिचान गर्न उनीहरुको पिसाबको माध्यमबाट परीक्षण शुरु गरेको हो । मकवानपुरमा लागूपदार्थ उत्पादन र ओसारपसारको साथै सेवन पनि धेरै हुने सम्भावित क्षेत्र भएकोले लागूपदार्थको सेवनलाई घटाउदै सवारी दुर्घटना न्युनिकरण गर्न यो परिक्षण सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा पछिल्लो समय बढ्दो दुर्घटनाको पछाडि लागूऔषध सेवन नै मुख्य कारण देखिएको समेत प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले आजबाट चालकहरुमा ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण सुरु गरिएको बताए । उनले ठूला, साना सबै सवारी साधनका चालकहरुलाई परीक्षण गरिने जानकारी दिए ।







