सन्तमाया बनिन् वनकरिया समुदायबाट पहिलो उम्मेदवार
हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिकाकी सन्तमाया वनकरिया नेपालमै वनकरिया समुदायबाट पहिलो उम्मेदवार बनेकी छन् ।मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी ५८ वर्षीया सन्तमाया लोपोन्मुख वनकरिया समुदायबाट पहिलो उम्मेदवार बनेकी हुन् । वनकरिया नेपालमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मात्रै रहेका छन् । सन्तमाया देशमै वनकरिया समुदायबाट स्थानीय तहको निर्वाचनमा पहिलो उम्मेदवार बनेकी हुन् । उनी मनहरी गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यको उम्मेदवार बनेकी छन् ।
करिव २० वर्ष जंगल जीवन बिताएकी उनलाई सामान्य रुपमा आफ्नो नाम मात्रै लेख्न आउँछ । १८ वर्षअघि जंगल जीवन त्यागेर वनकरिया समुदायसँगै बस्तीमा सरेकी उनले प्रौढ शिक्षामार्फत आफ्नो नाम लेख्न सिकेको बताउँछिन् । चेपाङ परिवारमा जन्मिएकी उनले जंगलमा कन्दमुल टिप्न जाँदा कृष्ण बहादुर वनकरियासँग विवाह गरेकी थिइन् ।
तीनवटा सन्तानलाई जंगलमा नै जन्माएर हुर्काएकी उनका दुई छोरा र ७ छोरीहरू छन् । स्थानीय तहको चुनावमा सन्तमाया पनि उम्मेदवार बनेपछि वनकरिया समुदाय नै हर्षित बनेको छ । स्थानीय तहको निर्वाचनमा वडा सदस्य बन्न पाउदा उनी आफैँ अचम्मित छिन् ।
निर्वाचनमा उम्मेदवार बन्नु उनको लागि मात्रै होइन वनकरिया समुदायको लागि नै सपनाजस्तै बनेको छ । गाउँमा भोट माग्न आउने सबैलाई उनीहरु हाम्रो समुदायबाट पनि सन्तमाया उठेकी छन्, भन्दै खुशीको कुरा सुनाउँछन् । उनले राजनीति गर्छु होला भन्ने कल्पना पनि गरेको थिइनन् । ‘म पनि यसरी राजनीति गरौँला, चुनावमा उठौँला भन्ने कुरा कल्पनामा पनि गरेको थिइन । अहिले चुनावमा उम्मेदवार बन्न पाउँदा खुशी लागेको छ’, सन्तमायाले भनिन् । वनकरिया समुदाय पछि पर्नु हुदैन भनेर आफू अगाडि बढेको उनको भनाई छ । जंगल जीवन त्यागेर बस्तीमा झरेसँगै उनले गाउँमा नेतृत्वदायी भूमिका खेलेकी छन् ।
‘गाउँमा मैले सधैँ केही नयाँ कुरा सिकाउन, सहयोग गर्न सबै कुरामा अगाडि नै रहेर काम गरेकी छु’, उनले भनिन् । अशिक्षा र गरिबीको रेखामुनि लोपोन्मुख वनकरिया समुदायमा धेरै सन्तान जन्माउने प्रचलन नै रहेको उनी सुनाउँछिन् । गरिबीमा धेरै सन्तान जन्माउँदा वनकरियाको लागि ठूलो समस्या हुने गरेको सन्तमाया सम्झिन्छिन् । तर, पछिल्लो समय उनको नेतृत्वमा वनकरिया समुदायमा यो समस्या घट्दै गएको उनको दावी छ ।
‘मैले धेरै सन्तान जन्माउनु हुदैन भनेर सम्झाउँदा, तपाईले किन ९ वटा पाउनु भयो भनेर प्रश्न गर्थे । तर, मैले सबैलाई सम्झाउने गरेको थिए । अहिले गाउँमा दुई सन्तान ईश्वरको वरदान भन्ने बुझाई आइसकेको छ’, उनले भनिन् । आफूले गाउँमा सधै नेतृत्वदायी भूमिका खेलेकै कारण गाउँलेले पनि उनलाई चुनावमा उठ्नुपर्छ भनेपछि आफू उठेको उनको भनाई छ । गाउँबाट नै सबैले तपाई उठ्नुपर्छ भनेपछि मलाई पनि वनकरिया समुदायलाई अब अगाडि बढाउनुपर्छ भन्ने लागेर उठेको हुँ’, उनको भनिन् । यो समुदायमा शिक्षा प्राथमिकतामा नपरेको उनको दुखेसो छ । त्यसैले उनले आफू वडा सदस्यमा निर्वाचित भएमा गाउँका सबै बालबालिकाको पहुँच शिक्षामा पु¥याउने सपना देखेकी छन् ।
‘पढ्ने जति सबैलाई पढाउने र नपढ्नेहरुलाई खेतीपाती लगायतका उत्पादनसँग जोडेर रोजगार बनाउने सपना छ’, उनले थपिन् । ‘जितेँ भने त वनकरियाको लागि धेरै गर्छु भन्ने सोच छ ।’ स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेको दुई साता पुग्न लाग्दा चुनाव प्रचारमा पाँच हजार रुपैयाँ खर्च भएको उनको भनाई छ ।







