थाहा नगरका मेयर विष्टले दिए राजीनामा
हेटौंडा-गठबन्धनका उम्मेदवारलाई जिताउन चुनावी प्रचारप्रसारमा हिँड्नु पर्ने भएपछि थाहा मेयर लवशेर विष्टले राजीनामा दिएका छन् । विष्टले बहालवाला मेयर भइरहँदा चुनावी प्रचारप्रसारमा हिँड्दा निर्वाचन आचारसंहिता विपरित हुने भन्दै बिहीवार पदबाट राजीनामा दिएका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका विष्णु विष्ट मेयरका उम्मेदवार छन् । विष्ट यसअघि लवशेरको पालामा राजनीतिक सल्लाहकार थिए । प्रमुख विष्टले उपप्रमुख खड्ग बहादुर गोपालीलाई राजीनामा दिएका हुन् । विष्टले रुपचन्द्र विष्ट रुदानेको सिद्धान्तलाई मानेर आफू निर्वाचनका कार्यक्रममा सहभागी हुन राजीनामा दिएका बताए ।
रुदानेले ‘दल छोडी पद, पद छोडी दल’ भन्ने गरेका थिए । विष्ट नेतृत्वको ५ वर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेकाले पनि उक्त कुरालाई जनता माझ लैजानु पर्ने देखिएको उनको भनाई छ । बितेका वर्षमा भएका कामलाई जनता सामू लैजान आफू निर्वाचनमा सहभागी हुनुपर्ने भएकोले राजीनामा दिएको बताए । विष्टकै नेतृत्वमा थाहा नगर देशभरबाटै बेरुजी फर्छयौटमा उत्कृष्ट भएको थियो । थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएको थियो ।







