गौरीटार रंगशाला १५ वर्षदेखि निर्माणाधीन अवस्थामा
हेटौंडा, २३ वैशाख÷ शिलान्यास भएको करिब १५ वर्ष भइसक्दा पनि हेटौंडा–६ स्थित गौरीटार रंगशाला अझै निर्माणाधीन अवस्थामा छ ।२०६४ साल जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको गौरीटार रंगशाला अझै निर्माणाधीन अवस्थामा रहेको हो । शिलान्यास भएको १५ वर्ष भइसक्दा पनि रंगशाला निर्माण सकिएको छैन । नेपाली खेलकुदको ड्रिम प्रोजेक्टका रूपमा सुरु भएको रंगशालाको निर्माण कार्य डेढ दशकपछि कछुवाको गतिमा सुरु हुन थालेको छ । शिलान्यास गरेर राष्ट्रिय खेलकुद परिषद्ले अलपत्र छाडेको रंगशाला निर्माणमा बागमती प्रदेश सरकारले तदारुकता देखाएको छ । यद्यपि रंगशाला निर्माण कार्यले गति लिन भने सकेको छैन ।
खेलकुदको करिब १९ वटा संरचना बनाउने गरी सुरु भएको रंगशालामा हाल फुटबल रंगशालाको चौर निर्माण गरी पर्खाल लगाउने र प्याराफिट निर्माण गर्ने काम भइरहेको छ । हालसम्म गौरीटारमा संघीय सरकारले करिब ८ करोड रूपियाँ र बागमती प्रदेश सरकारले ४ करोड रूपियाँ खर्च गरिसकेको जनाइएको छ । प्रदेश सरकारले चालू आव ०७८÷७९ मा रंगशालाका लागि ८ करोड रूपियाँ विनियोजन गरेको भएपनि खर्च हुन सकेको छैन । गौरीटारमा हालसम्म फुटबल मैदान तयार भएपनि खेल्नको लागि अझै तयार भएको छैन ।
केन्द्रीय सरकारमातहत रहेको रंगशाला प्रदेश सरकार गठन भएसँगै प्रदेशमातहत ल्याउने र भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने घोषणा गरिएको थियो । तर, ४ वर्षमा पनि रंगशालामा देखिने गरी केही काम हुन सकेको छैन । प्रदेशका हालसम्मका तीनवटै मुख्यमन्त्रीले रंगशालाको स्थलगत निरीक्षण गरिसकेका छन्, कामले भने गति लिएको छैन । फुटबल मैदान तथा एथ्लेटिक्सतर्फको फिल्ड एण्ड ट्रयाकले आकार लिए पनि ठेकेदारको ढिलासुस्तीका कारण काम अझै पूरा भएको छैन ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत् सार्वजनिक निर्माण कार्यान्वयन एकाइका प्रमुख दीपेन्द्र सुवेदीका अनुसार हाल खेल मैदान, एथ्लेटिक्स ट्रयाक र तीन हजार पाँच सय सिट क्षमताको भीआइपी
प्यारापिट निर्माण भइरहेको छ ।गिरी कन्स्ट्रक्सनले काम पूरा नगरेपछि ३ वर्षमा सम्पन्न गर्ने गरी केसी÷सप्तकोसी÷ओम साई एन्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको एक वर्षपश्चात् बल्ल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले करिब ९० करोड रूपियाँ बराबरको फुटबल रंगशालामात्रै निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ ।
गौरीटारमा कभर्ड हल, पौडी पोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिने बताइएको छ । केही वर्षअघि संघीय सरकारअन्तर्गत् ८ करोडमा निर्माण भएको छात्रावास पनि अब प्रयोग गर्न नमिल्ने अवस्थामा छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले महिला खेलाडी आवासका लागि बनाइएको भवन खेलाडी बस्नका लागि उपयुक्त नभएको बताए । करिब १५ वर्षअघि अन्तर्राष्ट्रिय मोडालिटीमा राखेपले गौरीटार रंगशाला बनाउने योजना बनाउदा खेलकुदका सबै संरचना एकै ठाउँमा बनाउन त्यति बेला करिब ३ अर्ब रूपियाँ लागत अनुमानसमेत गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव भण्डारी बताउँछन् । राखेपको स्वामित्वमा रहेको जग्गामा उत्तम सेवा सुविधासहित खेलकुदका व्यवस्थित संरचना बनाउने योजना राखेपले बनाए पनि त्यसलाई पूर्णता दिएन ।
यसले गर्दा सोही योजनाअनुसार गौरीटार रंगशालामा सबै संरचना निर्माण गर्न करिब ५ अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको भण्डारीले जानकारी दिए । ‘त्यति बेला यी सबै संरचना बनाउन ३ अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको रहेछ । अहिले प्रारम्भिकरुपमा अनुमानित बजेट ५ अर्ब रूपियाँ लाग्ने आँकलन गरेका छौं’, उनले भने । निर्धारित समयमा रंगशाला निर्माणमा सरोकारवालाले चासो नदिँदा आर्थिक भार डेढ गुणाभन्दा धेरै बढेको छ ।







