उम्मेदवारसँग वनकरिया र चेपाङलाई लालपूर्जाको आश
हेटौंडा -मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी ६७ वर्षीया गोमा वनकरियाले दैनिक विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवारहरु भेटिरहेकी छिन् ।स्थानीय तहको निर्वाचनमा आफूलाई जिताउन आग्रह गर्दै उनको घरमै भेट्न जानेहरुको भीड नै लाग्छ । भोट माग्न आउने उम्मेदवारसँग उनी लालपुर्जाको आश गर्छिन् । उनलाई मत माग्न आउनेले लालपुर्जा ल्याइदिए पनि हुने भन्ने लाग्छ । उनले आफूसँग भोट माग्न आउनेसँग सुरक्षित र स्थायी बसोबास मागेको बताउँछिन् । गोमाले पछिल्लो केहिदिन यता दिनँहु भेटिरहेको उम्मेदवारहरुले उनलाई लालपुर्जा दिलाउने आश्वासन दिइरहेका छन् । तर, उनी विश्वस्त हुन नसकेको बताउँछिन् ।
करिव दुई दशकदेखि उक्त क्षेत्रमा बस्दै आएकी उनलाई कतिबेला सो ठाउँ छोड्नुपर्ने हो, भन्ने चिन्ता लागिरहन्छ । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा सानो घर बनाएर बसिरहेकी उनलाई निकुञ्जले उठीबास लगाउने हो कि भन्ने पीर लाग्ने गरेको बताइन् । ‘यो जग्गा हाम्रो होइन । हामीलाई सरकारले ओडारबाट ल्याएर यहाँ राखेको हो । तर, अहिलेसम्म हामीले जग्गाधनीको लालपूर्जा पाएका छैनौँ, उनले भनिन् ‘आफ्नो नाममा जग्गा नहुँदा हामीले सुरक्षित महशुस गरेर बस्न पाएनौँ ।’
जंगली जनावरको जोखिम मोलेर जंगल क्षेत्रमा नै बस्दै आए पनि उनले अघिल्लो निर्वाचनमा पनि लालपुर्जा दिलाइदिन्छौँ भनेकालाई नै भोट हालेकी थिइन् । तर, उनले भोट हालेर जितेर गएकालाई लालपूर्जा नदिएको उनको दुखेसो गरिन् ।‘जितेर गएपछि उनीहरु ठूलो मान्छे भइहाल्छन् । हामीलाई सुरक्षित रुपमा बस्नको लागि लालपुर्जा दिनुपर्छ,’ उनले भनिन् । वनकरिया सधैँ अरुलाई जिताउनको लागि मात्रै नभएको उनले बताइन् । २६ वर्षीया सुस्मिता वनकरिया पनि आफूहरुलाई जग्गाधनीको लालपुर्जा दिनेलाई मात्रै मत दिने बताउँछिन् ।
‘
हामीलाई अरु ठाउँमा सार्छौं भनेर पनि हुँदैन । वर्षौदेखि यहीँ बस्दै आएका हामीलाई यहीँको लालपुर्जा दिनुपर्छ, यो ठाउँ छोडेर हामी अन्त जान सक्दैनौँ,’ उनले भनिन् । उनले वनकरियाहरु विभिन्न अभावको बीचमा असुरक्षित र अस्थायी बासस्थानमा बस्दै आएको बताइन् ।आफूहरु बसिरहेको स्थान मात्रै आफ्नो नाममा भएपनि वनकरियालाई ठूलो राहत पुग्ने उनको भनाई छ । ‘सबैले लालपुर्जा दिलाइदिन्छौँ त भन्नुहुन्छ तर, कसरी विश्वास गर्ने ? अघिल्लो चुनावमा पनि त्यस्तै भनेकाहरूले जितेपछि केही गरेका होइनन्,’ निराश हुँदै उनले भनिन् । चेपाङबस्तीकी राममाया प्रजालाई भने अब जग्गाधनीको लालपुर्जा पाइन्छ भन्ने आश नै लाग्न छोडिसक्यो ।
वर्षेनी मत माग्न आउनेहरुले दिएको आश्वासन पूरा नभएपछि उनलाई अब जग्गाधनीको लालपुर्जा पाइन्छ भन्ने आश लाग्न छोडेको बताउँछिन् । तर, भोट माग्न आउनेहरुसँग उनले एउटा अपेक्षा भने राखेको बताउँछिन् । ‘लालपुर्जा पाउँछु भन्ने त मलाई आश नै लाग्न छोडिसक्यो बरु निशुल्क रुपमा पढ्न पाउने व्यवस्था चाहीँ गरिदिनुप¥यो’, उनले गुनासो गरिन् । ८ वटा सन्तान भएकी उनलाई
छोराछोरीले राम्ररी पढ्न नपाएको दुख लाग्ने गरेको बताइन् । गाउँमा नजिकै स्कुल नहुनु र टाढा गएर पनि पढ्न सक्ने अवस्था नहुनुले गर्दा चिन्तित भएकी उनी निशुल्क रुपमा पढ्ने व्यवस्था गरिदिनेलाई मत दिने बताउँछिन् । आफूले नपढेको कारण रोजगारी नपाएको र गरिबीमा बस्नु परेको उनको भनाई छ ।
‘हामीले पढ्न नपाउँदा जागिर खान सकेनौँ, त्यसैले गरिब भएर बाँच्नु प¥यो । छोराछोरीलाई पढाउन पाए हामीले जस्तो भोग्नु पर्दैनथ्यो होला । म त भोट माग्न आउनेहरुसँग म निःशुल्क शिक्षा माग्छु,’ उनले थपिन् ।वनकरिया र चेपाङहरुलाई लालपूर्जा दिलाउन आफूहरुले पहल गरेको भएपनि सफल हुन नसकेको मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीको भनाई छ । उनले उक्त समुदायको बासस्थानलाई स्थायी बनाउन पहल गरेको भएपनि विभिन्न कारणले सम्भव नभएको बताए ।







