आजदेखि मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

साझाकुरा
२०७९ बैशाख २८, बुधबार ११:३४

हेटौंडा- स्थानीय तह निर्वाचनका लागि आज बुधबारदेखि मौन अवधि सुरु भएको छ । २७ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्ने समय समाप्त भएसँगै आजदेखि मौन अवधि सुरु भएको हो ।निर्वाचन आयोगले मतदान हुनु ४८ घण्टा अघिदेखि मौन अवधि तोकेको हो । पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न ३० वैशाखमा देशभर मतदान हुँदैछ । ३० वैशाख शुक्रबार बिहान ७ बजेदेखि अपराहन्न ५ बजेसम्म मतदान हुनेछ ।

उम्मेदवारहरु मतदाताको घरघर पुगेका छन् । उम्मेदवारहरुको योजना र प्रतिबद्धताअनुसार निर्वाचन प्रचारप्रसार सक्किएपछि मतदातालाई आफ्नो धारणा तय गर्न मौन अवधि दिने गरिन्छ । मतदान गर्ने समय अघिको दुई दिनलाई मतदाताको लागि धारणा बनाउने समय दिइएको निर्वाचन आयोगले जानकारी दिएको छ ।मौन अवधि सुरु भएपछि अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरिने आयोगले जनाएको छ । अत्यावश्यक परेको हकमा मात्रै अनुमति लिएर जान आउन सकिने जनाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था भएअनुसार ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरिएको छ ।

मौन अवधिमा पनि दलहरु कानुन उल्लंघन गर्न सक्ने संकेत देखिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा सबै राजनीतिक दलबाट आचारसंहिता विपरितका गतिविधि भएकाले मौन अवधिमा पनि कानुन उल्लंघन हुनसक्ने सम्भावना बढेको हो ।मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले मौन अवधिमा कानुन विपरितका कार्य भए तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् । उनले निर्वाचन कार्यालय निर्वाचन गराउने निकाय भएको भन्दै निर्वाचन आचारसंहिता हेर्ने सुरक्षा निकायले कडाई गर्नुपर्ने बताए ।
के गर्न पाईंदैन ?
निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्णरुपमा बन्द गर्नु  पर्नेछ ।मौन अवधिमा दलगत प्रकारका अन्तक्र्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख गरिएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान हुने स्थानको ३०० मिटर वरपर क्षेत्रमा प्रचार सामग्रीहरु पनि सम्बन्धित दलहरुले हटाउनुपर्ने आयोगले जानकारी दिएको छ ।

मतदाता प्रभावित गर्ने खालका कुनैपनि गतिविधि गर्न नपाइने निर्वाचन आयोग मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।श्रेष्ठले नाराबाजी, प्रचारसामग्री वितरण गर्न नपाइने बताए । मौन अवधिभित्र सामाजिक सञ्जालबाट पनि मत माग्न नपाइने उनले जानकारी दिए । मत माग्न धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।
आपतकालीन सेवा र अनुमति लिएका हकमाबाहेक मतदानको दिनमा सवारीसाधन सञ्चालन हुन नपाउने जनाइएको छ । साइकल भने चलाउन पाइने जनाइएको छ । मतदानको दिनमा उम्मेदवार वा तिनका प्रतिनिधिले मतदान केन्द्रमा निर्वाचन चिन्ह वा संकेत भएका लुगा वा ब्याज लगाउन नपाइने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले साझाकुरालाई जानकारी दिएका छन् । चुनाव चिन्ह झल्किने सांकेतिक पोसाक वा वस्तु लगाउन, बोक्न वा देखाउन नपाइने जनाइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरका दश वटा स्थानीय तहमा एकहजार सातसय ७० जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटिएका छन् । जिल्लास्थित दश स्थानीय तहका एकसय २ वटा वडामा रहेका तीनसय ६५ मतदान केन्द्रमा एकहजार आठसय जना कर्मचारी खटिएका हुन् ।जिल्लाको विभिन्न अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको छनौट गरी सशस्त्र प्रहरी, जनपथ प्रहरी सुरक्षाको लागि परिचालन गरिएको छ । मकवानपुरमा दुईलाख ९४ हजार नौसय १९ जना मतदाता छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*