मकवानपुरमा करिब ७१ प्रतिशत मत खस्यो, रातीबाटै मतगणना
हेटौंडा- मकवानपुरको १० वटै स्थानीय तहमा शान्तिपूर्ण तरिकाबाट स्थानीय तह निर्वाचनको मतदान सकिएको छ । मकवानपुरको १० वटै स्थानीत तहमा गरेर करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।शुक्रबार बिहान ७ बजेदेख सुरु मतदान अपरान्ह ५ बजेसम्म जारी थियो । हेटौंडाका केही वडामा भने दिउसो बर्षातका कारण रोकिएको मतदान साँझसम्म सकिएको थियो । प्रदेश निर्वाचन कार्यालय र जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७१ प्रतिशत मत खसेको जानकारी दिएको हो । मकवानपुरका स्थानीय तहहरुमा ६० देखि ७५ प्रतिशतसम्म मत खसेको छ । औसतमा ७१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोख्रेलले जानकारी दिए । उनका अनुसार सबै पालिकाबाट तथ्यांक नआइसकेका कारण यकिन तथ्यांक आउन बाँकी छ ।
दुई लाख ९४ हजार ९१९ मतदाता रहेका मकवानपुरको १० पालिकामा १ सय ६५ मतदान स्थल र ३ सय ५६ मतदान केन्द्रबाट मतदान भएको थियो । मकवानपुरको थाहा नगरपालिकामा ७० दशमलव ६४ प्रतिशत, मकवानपुरगढीमा ७० प्रतिशत, इन्द्रसरोबरमा ६८ प्रतिशत भन्दा बढी, बकैयामा ७५ प्रतिशत मत खसेको जनाइएको छ । समाचार तयार पर्दासम्म अन्य पालिकामा खसेको मतको तथ्यांक उपलब्ध हुन सकेन् ।सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकामा मात्र १ लाख ४ हजार ४ सय ५० जना छन् । थाहामा ३२ हजार ३ सय ७, बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमतीमा २२ हजार ४०, भीमफेदीमा १७ हजार ४ सय २८, मकवानपुरगढीमा १९ हजार १ सय १८, मनहरीमा २७ हजार ७ सय २१, राक्सिराङमा १५ हजार ८ सय ३२, इन्द्रसरोवरमा १२ हजार ४ सय ७१ र कैलाशमा १४ हजार ५ सय ४७ मतदाता छन् ।
१९ सय बढी उम्मेदवारमा प्रतिस्पर्धा
मकवानपुरको १० वटै पालिकामा मतदाताले आगामी पाँच वर्षका लागि जनप्रतिनिधका रुपमा उम्मेदवारलाई चुनिसकेका छन् । मतपेटिकामा मत खसेपनि अन्तिम नतिजा आउन भने केही दिन लाग्नेछ ।
जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका रहेको छ । जम्मा ५ सय ३० पदका लागि विभिन्न दलका र स्वतन्त्र गरेर १ हजार ९ सय ३१ जना उम्मेदवार भएका थिए । मकवानपुरको १० पालिकाका १ हजार ९ सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए । हेटौंडा र थाहा नगरपालिका गरी मेयरमा २४ जना, ८ वटा गाउँपालिकाको अध्यक्षमा ५० जना, दुई नगरको उपमेयरमा १२ जना, ८ गाउँपालिकाको उपाध्यक्षमा ३२ जना, १ सय २ वटा वडामा वडा अध्यक्षमा ४ सय ३५ जना, खुल्ला वडा सदस्यमा ७ सय २८ जना, महिला वडा सदस्यमा ३ सय ५० जना, दलित महिला वडा सदस्यमा ३ सय जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकामा ९७ पदका लागि ३ सय ८७ जनाको उम्मेदवारी परेको थियो । थाहा नगरपालिकामा २ सय ४०, बकैयामा २ सय ३४, मनहरीमा २ सय २१, बागमतीमा १ सय ६७, राक्सिराङमा १ सय ५१, भिमफेदी गाउँपालिकामा १ सय ३५, कैलाशमा १ सय ७३ रमकवानपुरगढीमा १ सय ३४ जना उम्मेदवार भएका थिए । इन्द्रसरोबर गाउँपालिकामा २७ पदका लागि ८९ जनाको उम्मेदवारी परेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी हेटौंडा र कम इन्द्रसरोबरमा उम्मेदवार प्रतिस्पर्धामा रहेको छन् ।
मकवानपुरमामा २०७४ को तुलनामा यसपटक उम्मेदवारको संख्या घटेको छ । निर्वाचन आयोगका अनुसार मकवानपुरको १० पालिकामा २ हजार २ सय ६ उम्मेदवारप्रतिस्पर्धामा थिए । वैशाख ११ र १२ गते २ हजार ६७ जनाले मनोनयन दर्ता गराएकोमा १ सय ३६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । मकवानपुरमा ६ जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्लामा गत निर्वाचनमा भन्दा यसपटक महिला उम्मेदवारहरुको संख्या घटेको छ । गत निर्वाचनमा ८ सय ५९ महिला उम्मेदवार बनेकोमा यस निर्वाचनमा विभिन्न पदमा ७ सय २१ महिला उम्मेदवार भए । यसपाली महिला उम्मेवादरको संख्या १ सय ३८ ले घटेको हो ।
अन्य पदमा बाहेक प्रमुख पदमा भने महिला उम्मेदवारको संख्या बढ्यो । प्रमुख पदमा महिला उम्मेदवारी तीन जनाले बढेको हो । उपप्रमुखमा १७ ले घटेको छ । गठबन्धनका कारणपनि उपाध्यक्षमा पुरुष उम्मेदवार भएपछि तुलनात्मक रुपमा उपप्रमुखमा महिला उम्मेदवार घटेको हो ।मतगणना रातीबाटै सुरुमकवानपुरमा मतगणना कार्य शुक्रबार रातीबाटै सुरु भएको छ । शुक्रबार बिहानदेखि मतदान सुरु भएर साँझ ५ बजे सम्पन्न भएसँगै रातीदेखि मतगणना कार्य सुरु भएको हो ।
केही पालिकामा मध्यरातदेखि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक पश्चात मतगणना कार्य सुरु गरिएको हो । स्थानीय तह निर्वाचनमा मतदान सकिएसँगै मतदान सुरु गर्न यसअघि नै मतगणना स्थल तयार पारिएको थियो । मकवानपुरका १० वटै स्थानीय तहको मतगणना गर्न विगतको निर्वाचन भन्दा मतगणना स्थललाई थप सुरक्षित बनाइएको छ । मतगणना स्थाललाई
तारजालीले चारै तिर घेरिएको छ । मतगणना स्थलमा सिसिटिभी क्यामेरापनि जडान गरिएको छ ।
मतगणना गर्दा असुरक्षाको घटना बढेपछि मतगणना स्थललाई तारजाली र सीसीक्यामेरा जडान गरेर सुरक्षित बनाइएको हो । समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार हेटौंडा उपमहानगर, मकवानपुरगढी, मनहरी, इन्द्रसरोबरलगायतका पाकिलामा रातीबाटै मतगणना सुरु गरिने भएको छ । हेटौंडाको २ नम्बर वडामा रहेको सिदार्थ माविमा मतगणना गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । हेटौंडाको मेयरमा १८ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमध्ये एमालेका मेयर पदका उम्मेदवार अनन्त पौडेल, गठबन्धनबाट नेकपा
(एकीकृत समाजवादी)की मिनाकुमारी लामा र राप्रपाबाट दिपक सिंहको प्रमुख प्रतिस्पर्धी हुन् । उपमेयरमा ९ जनाले उम्मेदवारी दिएका थिए । जसमा एमालेकी उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्ले, गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।







