हेटौंडाको १ नम्बर वडामा दोस्रो पटक न्यौपाने
हेटौंडा–स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिकामा खाता खोलेको छ । एमालेको गढ मानिने हेटौंडामा कांग्रेसले १ नम्बर वडाबाट खाता खोलेको हो ।
आइतबार सम्पन्न मतगणना अनुसार हेटौंडाको १ नम्बर वडामा नेपाली कांग्रेसका सविन न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने १ हजार ४ सय ४२ मत ल्याउँदै विजयी हासिल भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तमप्रसाद पौडेललाई १ सय ३१ मतान्तरले पराजित गरेका हुन् । एमालेका पौडेलले १ हजार ३ सय ११ मत प्राप्त गरेका थिए । ४ हजार ७ सय ८८ मतदाता रहेको हेटौंडा–१ मा ३ हजार २ सय ९३ मत खसेको थियो । न्यौपाने १ नम्बर वडामा दोस्रो पटकका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
न्यौपानेले वडा अध्यक्ष जित्न अन्य चार सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईली निर्वाचित भएका छन् । वडा सदस्यमा ईश्वरी रसाईली र खुला सदस्यमा सोनाम सिं स्याङ्तान दोस्रो पटकका लागि विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका खुल्ला वडा सदस्यमा बुद्धबहादुर पाख्रिन र हरि श्रेष्ठ, महिला वडा सदस्य सरिता पाख्रिन र दलित महिला वडा सदस्य निशा विश्वकर्मा पराजित भएका छन् ।
न्यौपानेले गत निर्वाचनमा पनि एमालेका उत्तम शर्मा न्यौपानेलाई हराएका थिए । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट न्यौपानेले वडा अध्यक्ष र एमालेका चार जना सदस्यमा निर्वाचित भएका थिए । उनी गत निर्वाचनमा पत्रकारिता गर्दागर्दै जनप्रतिनिधि बन्न निर्वाचनमा होमिएका थिए । हेटौंडाबाट प्रकाशित लोकप्रिय पत्रिका साझाकुरा दैनिकका सम्पादक न्यौपानेले पहिलो निर्वाचनमै विजयी हासिल गर्दै हेटौंडामा तहल्का मच्चाएका थिए ।
पत्रकारिता बाटै समाजमा सुपरिचित न्यौपानेले एमालेको गढ मानिने १ नम्बर वडालाई भत्काउँदै कांग्रेसको चार तारे झण्डा १० वर्षका लागि गाडि सकेका छन् । पार्टीप्रति जनताको भरोसा जगाउँदै लैजान आफ्नो पेशागत र व्यक्तिगत छविले मद्दत पुगेको बताउँदै उनले आफ्नो जितले मात्र सन्तुष्ट नमिलेको बताए । कांग्रेसको प्यानल नै विजयी गराएको दिन आफ्नो लक्ष्य पूरा भएको ठान्ने बताउँदै उनले जनपक्षीय काम गर्दै अघि बढ्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अधिवेशनबाट उनी नगर सचिव बनेका थिए ।







