इन्द्रसरोवर र भीमफेदीमा एमाले, कैलाश अध्यक्षमा कांग्रेस विजयी
हेटौंडा- स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् बैशाख ३० गते शुक्रबार सम्पन्न मतदानको मतगणना जारी छ ।समाचार तयार पार्दासम्म मकवानपुरको १० स्थानीय तहमध्ये ३ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिकाको अन्तिम मतपरिणाम आएको हो ।जसअनुसार भीमफेदीको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनबाट कांग्रेस उम्मेदवार, ईन्द्रसरोवरको दुबै पदमा एमाले उम्मेदबार र कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार र उपाध्यक्षमा माओवादी उम्मेदवार बिजयी भएका हुन् ।
कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार लोकबहादुर मुक्तान चारहजार ८९७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजालले यसैगरी, उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बालकुमार मल्ल ठकुरी चारहजार ८८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत ल्याएकी छन् । २०७४ सालको निर्वाचनमा एमालेबाट कैलाश गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी उनी यो निर्वाचनमा भने पराजित भएकी हुन् । त्यस्तैगरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी शर्मा बिजयी भएका छन् ।
एमालेका पुडासैनीले ३ हजार ७ सय २२ मत ल्याउँदै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वलाल लामाले ३ हजार ४ सय ७२ मत ल्याए । उपाध्यक्षमा पनि एमालेको उम्मेदवार उमाकुमारी लामा विजयी भएकी छन् । उनले ३ हजार ७२५ मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनको प्रतिस्पर्धी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याइन् । यसैगरी, ईन्द्रसरोवरको ५ वडाहरुमा ३ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमाले बिजयी भएको छ । उपाध्यक्षमा निर्वाचित लामा यसअघि २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट सोहि गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०७४ मा भएको स्थानीय तहमा पनि इन्द्रसरोवरमा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा बिजयी भएका छन्
दोस्रो कार्यकालका लागि भीमफेदीमा अध्यक्षमा बिजयी भएका हुन् । उनले पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्दै लामा बिजयी भएका हुन् । लामाले ५ हजार ५ सय ९१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरे । लामा भीमफेदीका निवर्तमान अध्यक्षसमेत हुन् । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजीव श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरे । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् । रानाले ५ हजार २ सय ९९ मत प्राप्त गरिन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपप्रमुखमा निर्वाचित भएकी थिइन् । अन्तिम मतपरिणाम आउन बाँकी रहेको मकवानपुरको अधिकांश स्थानीय तहमा गठबन्धनको उम्मेदवारले अग्रता लिएका छन् ।







