बहुप्राविधिक विश्वविद्यालय निर्माण कार्य गतिहिन
हेटौंडा-बागमती प्रदेशको राजधानी हेटौंडा–६ गौरीटारमा विगत २२ वर्षदेखि निर्माण हुने भनिएको बहुप्राविधिक विश्वविद्यालयको तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलन्यास गरेको तीन वर्ष भयो। चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने भनिए पनि हालसम्म भवन निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । निर्माणाधीन विश्वविद्यालयको भवन निर्माणमा ढिलाइ हुँदा विद्यार्थीहरूसमस्यामा परेका छन् । तोकिएको समयमा भवन निर्माण नहुँदा अध्ययनका लागि आएका विद्यार्थीहरू फर्कन थालेका छन् ।
दुई वर्षमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने भएपनि कोरोनाको बहाना बनाउँदै काममा ढिलासुस्ती हुँदै आएको छ । २२ वर्ष अघिदेखि विद्यालय निर्माणको लागि योजना बनाए पनि काम सुरु हुन सकेको थिएन । तीन वर्षअघि तत्कालीन मुख्यमन्त्री पौडेलले निर्माणका लागि शिलन्यास गरेपनि यसको निर्माणले भने गति लिन सकेको छैन । विद्यालय भवन समयमा नै बन्ने भन्दै सरकारले तीन वर्ष अघिदेखि केही विषयमा पठन पाठनसमेत सुरु गरिसकेको छ । तर, समयमा भवन नबन्दा विद्यार्थीको भर्ना दरमा कमी आएको विद्यालयका शिक्षक (प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीका प्रशिक्षक) अमित ठाकुरले बताए । निर्माणाधीन विद्यालयमै पठनपाठन हुने गरेको छ । संरचना निर्माणको काम भइरहेकाले मेसिनरी सामानको चर्को आवाजकै बीच पठनपाठन गर्नुपर्ने अवस्था छ ।
तीन वर्षअघि सुरु भएको प्राविधिक विद्यालयको पठनपाठनका लागि पहिलो वर्ष १८ जना विद्यार्थी भर्ना भएका थिए भने दोश्रो वर्ष ३७ जना विद्यार्थी भर्ना भएपनि ३ जनाले पढाइ छाडेका छन् । यसैबीच चालु वर्षमा जम्मा १८ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीहरू पढ्नको लागि भनेर आउने गरेको तर, पढ्ने ठाउँको वातारवण ठीक नभएको भन्दै फर्कनेको सङ्ख्या धेरै रहेको ठाकुरले बताए । अहिले विद्यालयमा रुकुम, गुल्मी, सप्तरी, सुर्खेत, सिरहालगायत जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेका छन् । केही समयअघिसम्म अर्को विद्यालयको भवन भाडामा लिएर पठनपाठनहुँदै आएको भएपनि पछिल्लो समय निर्माणाधीन विद्यालयमा नै पठनपाठन गराउनुपर्ने बाध्यता रहेको ठाकुरले जानकारी दिए ।
प्रत्येक वर्ष २ हजार ५ सय जना दक्ष जनशक्ति यस महाविद्यालयबाट उत्पादन गर्ने सरकारको लक्ष्य छ । भारत सरकारको ५८ करोड ४४ लाखको लागतमा निर्माण सुरु भएको विश्वविद्यालयको तीन वर्षसम्म करिब ६० प्रतिशतमात्र काम भएको हो ।हेटौंडा ६ सल्लाघारीमा रहेको २६ विगाहा क्षेत्रफलमा विद्यालय बन्न लागेको हो । निर्माणको लागि चित्रेपानी सामुदायिक वनमा रहेको २ हजार ३ सय वटा रूखसमेत कटान गरिएको थियो । ४ फागुन २०६६ मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रूपमा भारतीय लगानीमा हेटौंडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।
महाविद्यालयमा सुविधा सम्पन्न भवनहरू, खेलमैदान, शैक्षिक कक्षाहरू, वर्कशपजस्ता कक्षहरूसहित आवासीय भवनहरूसमेत निर्माण भइरहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीका प्रशिक्षक ठाकुरले बताए ।नेपालमा यस्ता विद्यालय बालाजु, बुटवल, नेपालगञ्ज, विराटनगर र हेटौंडामा गरी जम्मा ५ वटामात्र रहेका छन् । हटौंडामा निर्माण भइरहेको यो विद्यालयलाई प्राविधिक शिक्षातर्फको महत्वपूर्ण योजनाको रुपमा लिएको प्रदेश सरकारले बताएको छ ।विद्यालय बनिसकेपछि २२ देखि २४ वटा संकायको पढाइ हुने बताइएको छ । संरचना बनिसकेपछि नेपालका मात्र नभएर अन्य देशबाट समेत विद्यार्थीहरू यहाँ पढ्न आउने प्रदेश सरकारको दाबी छ । यद्यपि प्रदेश सरकारले निगरानी नराख्दा निर्माण कार्य ढिला भई आफूहरूलाई समस्या भएको विद्यार्थीहरूले बताएका छन् ।







