इन्द्रसरोवरको निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण
हेटौंडा-मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नवनिर्वाचित गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ ।इन्द्रसरोवरको निर्वाचन अधिकृतले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । सोमबार अन्तिम नतीजा सार्वजनिक गरेको निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान विजयी प्रमाणपत्र वितरण गरेको जनाएको छ ।
निर्वाचन अधिकृत मुरारी वस्तीले नवनिर्वाचित गाउँपालिका अध्यक्ष देवकृष्ण (डीके) पुडासैनी, उपाध्यक्ष उमा लामासहित वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । स्थानीय सरकारको व्यवस्थापिका गठन भएको र अब कार्यपालिका गठन गरेर निर्वाचन अधिकृतको कार्यालयले आफ्नो जिम्मेवारी पूरा गर्ने निर्वाचन अधिकृत वस्तीले जानकारी दिए ।
उनको अनुसार कार्यपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरु स्वतः सदस्य हुने व्यवस्था छ । निर्वाचित वडा सदस्यहरु मध्येबाट ४ जना महिला कार्यपालिका सदस्यमा चयन हुनेछन् ।
यस्तै अल्पसंख्यक र दलित समुदायबाट दुईजना मनोनित गरेपछि कार्यपालिकाको संरचना पूर्ण हुनेछ । ५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी २७ जना निर्वाचित भएका छन् । इन्द्रसरोवर गाउँपालिकामा १२ हजार ७ सय ९१ मतदाता मध्ये ८ हजार ५ सय ५८ जनाले मतदान गरेका थिए ।







