नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

साझाकुरा
२०७९ जेष्ठ ६, शुक्रबार ११:०२

हेटौंडा- मकवानपुरको ८ वटा स्थानीय तहको जनप्रतिनिधिलाई सपथ ग्रहण गराइएको छ । बिहिबार हेटौंडामा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले नव निर्वाचित जनाप्रतिनिधिलाई सपथ ग्रहण गराएका हुन् ।हालसम्म मकवानपुरको १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा मतगणना सम्पन्न भई नयाँ जनप्रतिनिधिहरु चुनिएका छन् । मकवानपुरको मकवानपुरगढी अध्यक्ष दोर्जे स्याङतान लामा, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान,

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई निर्वाचित प्रमाणपत्र दिँदै सपथ ग्रहण गराइएको हो ।उनीहरुलाई सपथग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जनभावना बुझेर काम गर्न आग्रह गर्दै शुभकामना दिएका छन् । श्रेष्ठले स्थानीय सरकार नै आम नागरिकले चाहेअनुसारको काम गर्न सक्ने सरकार भएकोले सोहि अनुसार काम गर्न उनले आग्रह गरे । हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको भने मतगणना जारी छ । बिहीबारबाट अघिल्लो निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिएकोले निर्वाचित नयाँ जनप्रतिनिधिलाई सपथ ग्रहण गराइएको हो । सपथ ग्रहण गरेपछि उनीहरुले बिहीवार नै पदभार ग्रहण गरेका छन् ।

सम्बन्धित पालिकामा निर्वाचित अध्यक्षले आफ्नो गाउँपालिकामा बिजयी भएका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराउने छन् । अधिकांश पालिकामा आज शुक्रबार जनप्रतिनिधिहरुको सपथ गराउने कार्यक्रम तय भएको छ ।अब बागमती र हेटौंडा उपमहानगरपालिकामा मतगणना सकिएपछि सपथ ग्रहण हुने जनाइएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कांग्रेस मकवानपुरका सभापति बुद्व लामालगायतको उपस्थिति थियो ।
मकवानपुरमा सत्तारुढ गठबन्धन गत निर्वाचनमा बहुमत पालिका जितेर जिल्लाकै ठूलो दल बनेको एमालेविरुद्ध निर्वाचन लडेको थियो । यसवर्षको निर्वाचनबाट गठबन्धनको ठूलो दल नेपाली कांग्रेसलाई बढी फाइदा भएको छ ।

गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को सहयोगमा कांग्रेसले मकवानपुरमा बहुमत पालिका जित्ने नयाँ इतिहास बनाएको छ । एमालेको गढलाई भत्काउँदै कांग्रेसले बुहमत पालिका र हालसम्म सबैभन्दा बढी वडा अध्यक्षमा विजय प्राप्त गरेको छ । माओवादीले हालसम्म थाहा नगरपालिकाको मेयर मात्रै जितेको छ । ०४६ पछिको बहुदल स्थापनापछि मकवापुरमा विजयी रहँदै आएको एमालेलाई यसवर्ष गठबन्धन मिलेर निर्वाचनमा पछारेका हुन् । २० वर्षपछि गत २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मकवानपुरको बहुमत पालिका जितेको थियो ।
तर, २०७९ को निर्वाचनमा भने एमाले दुई वटा गाउँपालिकामा खुम्चिने स्थितिमा पुगेको छ । हालसम्म इन्द्रसरोबर र भीमफेदी गाउँपालिकाको नेतृत्वमा एमाले विजयी भएको छ । भीमफेदीको उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भए । भीमफेदीमा गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो ।

गत निर्वाचनमा एमालेले जिल्लाको बहुमत पालिका अर्थात् ६ वटा स्थानीय तह हेटौंडा, भीमफेदी, मकवानपुरगढी, कैलाश, इन्द्रसरोबर र मनहरीमा विजय हात पारेको थियो । जसमा भर्खरै भएको निर्वाचनमा मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका कांग्रेसले फुत्काइसकेको छ । कांग्रेसले गत निर्वाचनमा राक्सिराङ र बकैया गाउँपालिका मात्रै जितेको थियो । निर्वाचन कार्यालयका अनुसार गठबन्धनबाट नेपाली कांग्रेसले ५ गाउँपालिका र माओवादीले १ नगर पालिकामा जीत हासिल गरेको हो । कांग्रेसले १ उपमेयर र माओवादीले ५ उपाध्यक्ष जीत हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*