हेटौंडाको मेयरमा लामा, उपमेयरमा बानियाँ निर्वाचित
हेटौंडा -२०७४ सालको निर्वाचनमा उपमेयर रहेकी मिनाकुमारी लामा स्थानीय तह निर्वाचन–०७९ मा गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयरमा निर्वाचित भएकी छन् ।नेकपा (एकीकृत समाजवादी) मकवानपुर उपाध्यक्षसमेत रहेकी लामाले नेकपा एमालेको गढ भत्काउँदै हेटौंडाको मेयरमा विजयी भएकी हुन् । उनी गत निर्वाचनमा एमालेबाट गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उपमेयर भएकी थिइन् । यसवर्ष भने एमाले विभाजनसँगै नेकपा (एस) रोजेकी लामाले गठबन्धनकै बलमा एमालेका उम्मेदवारलाई हराएर मेयरको कुर्सीमा पुगेकी हुन् । लामा हेटौंडाको पहिलो महिला मेयर बनेकी छन् । यसअघि हेटौंडा उपमहानगरको मेयरमा महिला निर्वाचित भएका थिएनन् ।
लामाले नेकपा एमालेका अनन्त प्रसाद पौडेललाई २ हजार १ सय ५९ मतले पराजित गरेकी छन् । हेटौंडाको १९ वटाबाट कुल ७३ हजार ४ सय १४ मत खसेको थियो । जसमा लामाले २३ हजार ६७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे । हेटौंडाको मेयर र उपमेयरमा ०४६ सालपछि पहिलो पटक एमाले पराजित हुनु पुगेको छ । यसअघि भएका स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
मेयरका अर्का उम्मेदवार राप्रपाका दिपकबहादुर सिंहले २० हजार ५सय ३१ मत ल्याउँदै तेस्रो भए । हेटौंडाको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उनले ३२ हजार ५ सय ९३ मत ल्याएका छन् । ०४६ पछिको बहुदल स्थापना पश्चात हेटौंडाको उपमेयरमा गठबन्धनको बलमा पहिलो पटक कांग्रेस विजयी भएको हो । उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन् । राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ५ हजार ८ सय ८७ मत ल्याउँदै तेस्रो भइन् ।
हेटौंडाको १९ वटा वडामध्ये एमालेले ९ वटा, कांग्रेसले ८ वटा, नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले १–१ वटा वडा जितेको छ । गत निर्वाचनमा १२ वटा वडा जितेर बहुमत पाएको एमाले ९ वडामा खुम्चिएको छ । ५ वटा वडा जितेको कांग्रेसले ३ वटा थपेको छ भने दुई वटा वडा जितेको नेकपा माओवादी केन्द्र एउटा वडामा सीमित हुन पुग्यो ।
को हुन् लामा ?
मेयरमा निर्वाचित भएकी लामा हेटौंडा–११, नवलपुरस्थित २३ पुस २०३३ मा जन्मिएकी हुन् । लामाले २०४६ सालबाट विद्यार्थी राजनीति सुरु गरेकी हुन् । २०५२ सालमा एमाले निकट अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष भएकी थिइन्, लामा ।उनी २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिवमा निर्वाचित भएकी हुन् । पार्टीमा उनले विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गरेकी छन् । लामा २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव भइन् ।
नवलपुरको त्रिभुवन माविबाट एसएलसी अध्ययन गरेकी लामाले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए र हरि खेतान बहुमुखी क्याम्पस बीरगञ्जबाट एलएलबीसम्मको अध्ययन गरेकी छन् ।लामासँग बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव छ । लामाले हालसम्म चीन, भारत र दक्षिण कोरियाको भ्रमण पनि गरेकी छन् । लामाको १३ असार २०५४ मा सामाजिक परम्परा अनुसार हेटौंडा–१ चाइनाक्वाटरका व्यवसायी सुनकुमार लामासँग विवाह भएको थियो । उनको एक छोरा र एक छोरी छन् ।







