पुनः एकीकरणका लागि सुझाव संकलन
हेटौंडा-आप्रवासी कामदारहरुको पुनः एकीकरणका लागि सुझाव संकलन गरिएको छ ।सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जालको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुनः एकीकरणका लागि आवश्यक योजना र नीतिहरुका विषयवस्तुहरु संकलन गरिएको हो ।मंगलबार आयोजित कार्यक्रममा सञ्जालका उपाध्यक्ष चिरञ्जीवी बरालले सरकारले ल्याएका नीतिलाई आत्मसाथ गर्दै थप सुझाव संकलन गर्नुको साथै वैदेशिक रोजगार ऐनले भारत जाने कामदारलाई पनि समेट्नु पर्ने माग
राखेका थिए ।
उनले वैदेशिक रोजगार नीति २०६८ जारी भएको र वैदेशिक रोजगार बोर्ड स्थापना भई सेवा प्रदान गर्दै आइरहेको बताए । सन् २०१९÷२० मा ४७ लाख ९२ हजार दुईसय ९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक्षक रोजगारका लागि गएको उनले जानकारी दिए । यस आवको वैशाखसम्ममा नयाँ श्रम स्वीकृति लिनेमा दुईलाख ७५ हजार १७४ जना रहेको उनको भनाइ छ । कार्यक्रममा पुनः एकीकरणसम्बन्धी अब बन्ने नीति निर्देशिकामा समेट्नुपर्ने विषयवस्तु संकलन गरिएको थियो । सहभागीहरु मध्येबाट चार समूहमा विभाजन गरी सञ्चारकर्मी, गैरसरकारी संस्था, आप्रवासीको काम गर्ने संस्थाहरु र मन्त्रालय, प्रशासन र स्थानीयहरुका प्रतिनिधिहरुको समूह बनाई सुझाव संकलन गरिएको थियो ।







