१०५ वर्ष पुरानो चुरियामाई सुरुङमार्ग पुनः निर्माण कार्य सुस्त

साझाकुरा
२०७९ जेष्ठ १९, बिहीबार ११:१८

हेटौंडा -चालू आर्थिक वर्षको वैशाखसम्ममा गरिसक्ने भनिएको १०५ वर्ष पुरानो चुरियामाई सुरुङमार्ग पुनः निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न असफल भएको छ । बागमती प्रदेशको तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले शिलन्यास गरेको चुरियामाई सुरुङमार्ग पुनःनिर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसकेको हो ।पुनःनिर्माण कार्य निर्धारित समयमा पुरा हुन नसकेपछि तीन महिना समय थप गरिएको छ । चालू आर्थिक वर्षको वैशाखसम्मा पुनःनिर्माण गर्ने समयसिमा तोकिएको भएपनि सम्पन्न नभएपछि तीन महिना समय थप गरिएको जनाइएको छ । २०७८ साल साउनबाट पुनः निर्माण गर्न थालिएको सुरुङ मर्मतको काम अहिलेसम्म ६० प्रतिशत भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका ईन्त्रिजनियर विजय केसीले जानकारी दिए ।

उनले ठुलो पहाडको ढिस्को खनेर पन्छाउने काम सकिएको भन्दै साउनसम्ममा पुनःनिर्माण कार्य सक्ने लक्ष्य लिइएको बताए । पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता भएको थियो । हाल बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ निर्माण गरिएको थियो ।

दक्षिण एसियाकै पहिलो मानव निर्मित चुरियामाईसुरुङमार्ग राजा त्रिभुवन वीरविक्रम शाहदेव तथा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो । करिब पाँचसय मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ ।तत्कालीन समयमा चुरेको पहाड छेडेर तराईलाई काठमाडौंसम्म जोड्नु महत्वपूर्ण थियो । १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको अड्कल काट्न सकिन्छ । सहज रूपले आवत जावत गर्न मिल्ने गरी पुनःर्निर्माण गरिएपछि सुरुङमार्गको दुरी घटेर दुईसय १५ मिटर मात्र बाँकी रहने जानकारी यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले दिए ।

उनको अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय सीमा आगामी साउन महिनासम्म थपिएको छ । सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको भण्डारीले बताए । उनले सुरुङ सकेसम्म पुरानै स्वरूपमा बनाउन लागिएको पनि बताए ।तत्कालीन समयमा चुरेको पहाड छेडेर तराईलाई काठमाडौंसम्म जोड्नु महत्वपूर्ण थियो । १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको जानकाहरु बताउँछन् । पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् ।

सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने जनाइएको छ । उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको जानकारहरुको भनाई छ । उनीहरुको अनुसार प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो ।

सडकछेउमा देखिएका सुरुङको मुख थुनियो तर बारा जिल्ला तर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो । सुरुङको केही भाग नष्ट भएपछि सडकपारिको अर्को भागलाई भने कंक्रिटले बन्द गरिएको थियो । नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्वीटजरल्याण्डका नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको पुस्तक ‘द हिमालयन किङ्डम अफ नेपाल’ मा सुरुङमार्ग बारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ । त्यो समयमा बाराको अमलेखगञ्जसम्म रेल चल्ने गरेको थियो ।
रेल पछिसम्मै चले पनि सुरुङमार्ग भने बन्द भयो । अग्रजहरूका अनुसार उक्त मार्ग निर्माणताका अमलेखगञ्जबाट मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौं जाने मोटरबाटो नभए पनि साना गाडी राजा तथा राणाहरूले बोकाएरै भए पनि काठमाडौं पु¥याउने गरेका थिए ।

अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सीमाना चुरे खण्डमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको खर्चसमेत बढी हुने भएपछि तत्कालीन राणा सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*