फास्ट ट्रयाक निर्माणको जिम्मा पाएका दुई चिनियाँ कम्पनी निलम्बनमा

साझाकुरा
२०७९ जेष्ठ २१, शनिबार १७:२९

हेटौंडा-तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सुरुङ निर्माणको जिम्मा पाएका दुई वटा चिनियाँ कम्पनी निलम्बनमा परेको छ । छिटो र गुणस्तरीय काम नगरेको भन्दै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन निलम्बनमा परेको हो ।द्रुतमार्गको परामर्शदाता योसिन इन्जिनियरिङ करर्पोरेसन–कोरिया एक्सप्रेस वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले दुबै कम्पनीलाई गत मे २३ मा पत्र पठाउँदै निलम्बनबारे सूचित गरिएको जनाइएको छ । तर, उक्त पत्रमा कहिलेसम्मको लागि निलम्बन गरिएको हो भन्ने बारेमा भने खुलाइएको छैन ।

निलम्बनपछि दुबै प्याकेजमा निर्माणको काम ठप्प बनेको छ । निर्माण कम्पनीलाई पटक–पटक मौखिक, लिखित तथा प्राविधिकहरूको बैठकमा जानकारी गराउँदासमेत कार्यसम्पादनमा सुधार गर्न चासो नदेखाएको परामर्शदाताले पठाएको पत्रमा उल्लेख छ । पहिलो प्याकेजमा चाइना स्टेट र दोस्रो प्याकेजमा पोली चङ्दाले काम गरिरहेका थिए । ३ वर्षभित्र निर्माण सक्ने गरी २०७८ वैशाख ३१ मा दुबै कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर, सम्झौता भएको एक वर्ष बितिसक्दा निर्माणमा कुनै पनि प्रगति देखिएको छैन ।

निर्माण कम्पनीलाई परामर्शदाताले पठाएको पत्रमा रोजगारदाता र निर्माणकर्ताको संयुक्त सर्वेक्षणबाट सम्झौताअनुसार काम सन्तोषजनक नभएको उल्लेख छ । परामर्शदाताले निलम्बन गर्नुको कारण निर्माण कम्पनीसँग दक्ष सुरुङ इन्जिनियर नभएको, कमसल काम गरिएको, डिजाइन र कार्यविधिलाई बेवास्ता गरिएको, उपकरण र उचित निर्माण सामग्रीको व्यवस्था र परिचालन नगरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*