कामधेनुद्वारा नयाँ जनप्रतिनिधिको स्वागत
हेटौंडा – कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले हेटौंडाको ६ र १७ नम्बर वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । हेटौडा–६, चुच्चेखोलामा रहेको संस्थाले शनिवार नवनिर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको हो । ६ नम्बर वडाका वडा अध्यक्ष विष्णुबहादुर दाहाल तथा १७ नम्बर वडाका वडा अध्यक्ष उद्वव सत्याललाई बधाई ज्ञापन गरिएको हो ।
दुवै वडाअध्यक्षले पाँच वर्षसम्म निरन्तर जनताको काममा खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले सहकारीको माध्यमबाट अत्पादनमा जोडिँदै आर्थिक आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले कार्यकाल सफलताको शुभकामना दिएको थियो । संस्थाले हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, सरिता सापकोटा, मुना विश्वकर्मालाई समेत सम्मान गरेको छ ।
हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, कृष्ण अधिकारी र उर्मिला चुनारालाई स्वागत तथा बधाई ज्ञापन गरिएको छ । संस्थाका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, सल्लाहकार गौरबकुमार पराजुली, चुच्चेखोला सामुदायिक वन बचत तथा ऋण सहकारीका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटालगायतको आतिथ्यता थियो ।







