विवाद मिलेपछि बस्यो हेटौंडाको पहिलो कार्यपालिका बैठक
हेटौंडा- एमालेको विरोधको कारण बस्न नसकेको हेटौंडा उपमहानगरको कार्यपालिकाको पहिलो बैठक आइतबार बसेको छ ।गत बिहीबार बोलाइएको बैठकमा भएको विवादपछि एमालेले विरोध गरेपनि स्थगित भएको बैठक आइतबार बसेको हो । विवाद मिलेपछि बसेको बैठकले प्रदेश सरकारको पूर्वाधार निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाको ६ र १७ नम्बर वडामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन माग गरेर पठाएको पत्रको आधारमा ६ र १७ नम्बर वडामा रहेको जग्गा उपलब्ध गराउने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले जानकारी दिइन् । पहिलो बैठकले विषयगत समिति गठन गर्ने पनि निर्णय गरेको उनले बताइन् । समितिका सदस्यहरु भने सहमतिमा चयन गर्ने निर्णय भएको जनाइएको छ ।
उपमहानगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उपप्रमुखको संयोजकत्वमा राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, योजना अनुगमन तथा फरफारक समिति रहन्छ । पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति र वित्त व्यवस्थापन तथा सुशासन समितिमा वडा अध्यक्षहरु मध्येबाट संयोजक चयन गर्ने सहमति भएको बताइएको छ ।
बैठकले राष्ट्रिय भूमि आयोगअन्तर्गत् कार्य गर्न भूमि सेवा इकाईमा करार सेवामा कार्यरत् कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ । तर, नगर प्रमुख लामाले पहिलो बैठकमा नगर प्रमुखको पहिलो निर्णय पेश गर्न सकिनन् ।अघिल्लो पटक बोलाइएको बैठकमा उनले पेश गर्न खोज्दा विवाद भएको थियो । मेयर लामाले भने आफ्नो पहिलो निर्णयलाई आगामी आर्थिक बर्षको बजेटमा लागू हुने गरी नीति तथा कार्यक्रममै समेटेर लैजाने योजनाअनुसार कार्यपालिकाको बैठकमा पेश नगरेको बताइन् ।







