इम्बोस्ड नम्बर यातायात कार्यालय हेटौंडाबाट पनि जडान हुने

साझाकुरा
२०७९ जेष्ठ २४, मंगलवार ११:५५

हेटौंडा-नयाँ आर्थिक वर्ष सुरु भएसँगै बागमती प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिने भएको छ ।यातायात व्यवस्था विभागले हेटौंडासहित बागमती प्रदेशभरि साउन १ गतेदेखि सबैखाले सवारीसाधनलाई अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो । उक्त नियम साउन १ गतेदेखि नै लागू हुनेछ । यदि सवारीसाधनमा इम्बोस्ड नम्बर नगरिए यायायात विभागले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

सरकारले जबर्जस्ती इम्बोस्ड नम्बर राख्न लगाएको भन्दै यतिबेला सर्वत्र आलोचना भइरहेको छ । सरकारले हाल बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ ।सरकारले साउन १ गतेबाट इम्बोस्ड नम्बर जडान नगरेको सवारीलाई कारबाही गर्ने भएपछि बागमती प्रदेशको राजधानी हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा पनि इम्बोस्ड नम्बर जडान कार्य हुने भएको छ । सुरुमा बागमती प्रदेशको एकान्तकुना र गुर्जुधारास्थित यातायात कार्यालयमा मात्रै व्यवस्था गरिएकोमा हाल प्रदेश राजधानी हेटौंडा र चितवन लगायतको अन्य कार्यालयहरुबाट इम्बोस्ड नम्बर जडान गरिने व्यवस्था गरिएको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले हेटौंडास्थित यातायात कार्यालयबाटै इम्बोस्ड नम्बर वितरण गर्नको लागि सबै तयारी भइसकेको बताए ।इम्बोस्ड नम्बर जडान गर्नको लागि आवश्यक कर्मचारी काठमाडौंबाटै आउनुपर्ने भन्दै पोखरेलले अन्य तयारी भने भइसकेको बताए । उनको अनुसार सवारी दर्ता भएको यातायात कार्यालयमा निवेदन लेखेर दिएपछि सरकारले तोकेको राजश्व बुझाउनुपर्छ । त्यसपछि आवश्यक प्रक्रिया सकिएर एकै दिनमा इम्बोस्ड नम्बर आउनेछ । सरकारले इम्बोस्ड प्लेट जोड्न दुई पांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ ।

ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । सरकारले राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर दिएको छ । सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर छ भने कूटनीतिकको हकमा सेतो प्लेटमा नीलो नम्बर छ । निजी सेतो प्लेट र भाडाका सवारीसाधनलाई पहेंलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरिएको छ । यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ ।

धातुको प्लेटमा लेखिएका अक्षरहरू बाहिर देखिने गरी उठेका हुन्छन् । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन नसक्ने दाबी गरिएको छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ ।
इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले विद्युतीय स्टिकर टाँस्छ । त्यो स्टिकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चिप्सभित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको विस्तृत विवरण तुरुन्त लिन सक्छ ।

यस्तै, शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राख्ने योजना पनि छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*