स्वाइन फिभरले एक हजार १९ वटा सुंगुर बंगुरको मृत्यु

साझाकुरा
२०७९ जेष्ठ २५, बुधबार ११:४०

हेटौंडा- बागमती प्रदेशका सुंगुर बंगुरमा स्वाइन फिभर रोग देखा परेको छ ।प्रदेशको विभिन्न जिल्लामा हालसम्म स्वाइन फिभरका कारण एकहजार १९ वटा सुंगुर तथा
बंगुरको मृत्यु भइसकेको छ । कुखुरामा बर्डफ्लु रोगको संक्रमण बढ्दै गइरहेका बेला सुंगुर तथा बंगुरमा स्वाइन फिभर नामक रोग देखा परेको हो । हालसम्म प्रदेशको काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकालीमा संक्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल, ललितपुरका प्रमुख डाक्टर रामप्रकाश प्रधानले जानकारी दिए ।

ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायणमा स्वाइन फिभरबाट सुंगुर तथा बंगुरको मृत्यु पनि भएको जनाइएको छ । तीन वटै जिल्लामा गरी एकहजार १९ वटा सुंगुर तथा बंगुरको मृत्यु भएको तथ्याड्ढ संकलन भएको भएपनि यो संख्या अझ धेरै पुगिसकेको प्रधानको भनाइ छ । अफ्रिकन स्वाइन फिभर बंगुर, सुंगुर तथा बँदेलमा एक प्रकारको भाइरसबाट लाग्ने संक्रामक महामारी रोग हो । खोर वा फार्ममा रहेका शत् प्रतिशत बंगुर, सुंगुरहरू मार्न सक्ने हुनाले यो रोग आर्थिक हिसाबले खतरापूर्ण छ ।

अफ्रिकाको रैथाने यो रोग युरोप हुँदै सन् २०१८ मा चीनमा देखिएपछि एसियाका विभिन्न मुलुकहरू हुँदै सन् २०२० को मे महिनामा भारतको आसाम राज्यमा देखा परेको थियो । यससँगै नेपालमा समेत यो रोगको जोखिम बढेको छ । यो भाइरस निकै प्रतिरोधी हुन्छ । यो भाइरस पशुबाट मानिसमा सर्दैन । त्यसकारण बंगुर, सुँगुर र बँदेल मरेमा वा मरेको थाहा भएमा नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाईन चेकपोष्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा यथाशीघ्र खबर गर्न पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*