मुख्यमन्त्री र मन्त्रिकै छोराछोरी विद्यालय भर्ना भएनन्
हेटौंडा- २०७५ साल वैशाख ५ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरे । सरकारले २०७५ सालमा विद्यालय भर्ना अभियान सञ्चालन गरेपछि तत्कालीन समयको बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले पनि दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका थिए ।
कुनैपनि बालबालिका विद्यालय बाहिर रहन नपरोस् भन्दै सरकारले नै देशैभरि भर्ना अभियान सञ्चालन गरेको थियो । सरकारले भर्ना अभियान सुरु गरेपछि देशैभरि प्रधानमन्त्री, मन्त्रिहरु, मुख्यमन्त्री, पालिका अध्यक्ष, वडाध्यक्षदेखि विभिन्न व्यक्तिले अभिभावकत्व ग्रहण गर्ने भन्दै बालबालिकालाई विद्यालय भर्ना गर्न पु¥याए । सोही समयमा पूर्वमुख्यमन्त्री पौडेलले पनि पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको आर्थिक अवस्था कमजोर रहेका तामाङ र सीमान्तकृत चेपाङको छोराछोरीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका थिए ।
उनले मनहरी गाउँपालिका–६ का ६ वर्षीय सञ्जित ब्लोन र जेसिका प्रजालाई सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना गराउँदै सरकारले सञ्चालन गरेको भर्ना अभियानको सुरुवात गरेका थिए । पौडेलले ती बालबालिका आफ्नो छोराछोरी रहेको भन्दै विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, पुस्तकलगायत स्टेशनरी सामग्रीसमेत व्यवस्था गरिदिएका थिए ।
विद्यार्थी भर्नापछि बोल्दै पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको भन्दै प्रदेश सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताएका थिए । शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट कुनैपनि बालबालिका बञ्चित हुन नहुने धारणासमेत राखेका थिए । तर, उनको यो अभिव्यक्तिले अहिले उनलाई नै गिज्याइरहेको छ । पौडेलले भर्ना गराएका बालबालिका यतिबेला विद्यालयमा नै छैनन् ।
आर्थिक अभावको कारण विद्यालय जान नपाएका बालबालिकालाई मुख्यमन्त्रीले आफ्नो छोराछोरी बनाउँदै विद्यालय भर्ना गराइदिएपछि उनीहरुको अभिभावक पनि खुशि थिए । तर, उनीहरुको खुशी लामो समयसम्म रहेन । विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानका अनुसार पूर्वमुख्यमन्त्री पौडेलले ती बालबालिकालाई विद्यालय भर्ना गराएपश्चात् एक÷दुई पटकमात्रै थप अध्ययन सामग्री उपलब्ध गराएका थिए ।त्यसपछि पौडेलले न बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराए न त उनीहरुको बारेमा चाँसो नै राखे । ‘विद्यालयमा भर्ना गराएपछि उहाँले एक÷दुई पटक उनीहरुलाई पढ्न आवश्यक सामग्री पठाउनुभयो । एक वर्षसम्म चासो राखेको भएपनि त्यसपछि बालबालिकाको बारेमा सोधिखोजी नै भएको छैन’, प्रधानाध्यापक मोक्तानले भने ।
उनले पूर्वमुख्यमन्त्री पौडेलले बालबालिकाबारे चासो नै दिन छोडेपछि उनीहरुको पढाइको लागि आवश्यक पर्ने सामग्री विद्यालयले नै व्यवस्था गरेको थियो । तर, पछिल्लोपटक भने उनीहरु विद्यालय नै आएका छैनन् । मोक्तानले अघिल्लो वर्षमा विद्यालय भर्ना भएर पढेको भएपनि अहिले भने उनीहरु भर्ना नभएको बताए । उनले ती बालबालिका कहाँ पुगे भन्ने जानकारी आफूहरुलाई पनि नभएको भन्दै विद्यालयले खोजी कार्य गर्ने बताए । सोही विद्यालयमा बागमती प्रदेशसभा सदस्य ओम ग्लानले पनि सुनिल चेपाङको अभिभावकत्व ग्रहण गरेका थिए ।
उनले पनि सुनिलको पढाईको लागि ठूलो सहयोग नगरे पनि बेलाबखत विद्यालयमा बुझ्न भने पुग्ने गरेका छन् । प्रधानाध्यापक मोक्तानले सांसद् ग्लान समय समयमा सुनिलको पढाई बुझ्न विद्यालय आउने गरेको बताए ।संघीय सरकारको वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि मकवानपुरको दुई जना बालबालिकाको अभिभाकत्व ग्रहण गरेका थिए । मकवानपुरको महेन्द्रकिरण माविमा भर्ना गराउदै उनले दशवीन थिङ र विश्वास थोकरको अभिभावकत्व लिएका थिए । उनीहरु दुवैजना अहिले पनि विद्यालयमा अध्ययनरत् रहेको विद्यालयले जनाएको छ ।
मन्त्री खतिवडाले पनि बालबालिकाको पढाईको लागि खासै सहयोग गरेका छैनन् । तर, पनि मन्त्री खतिवडाले बेलाबखत उनीहरुको पढाईको बारेमा भने सोध्ने गरेको विद्यालयका प्रधानध्यापक राधालाल मण्डलले जानकारी दिए ।उनले विद्यालय भर्ना गराएपछि खतिवडा एकपटक पनि ती बालबालिका भेट्न विद्यालय नपुगेको बताए । उनले भर्नापश्चात् आफ्नो सन्तान भनिएको बालबालिकाको पढाईको लागि एकपटकमात्रै खर्च पठाएका थिए । बागमती प्रदेशको तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पनि दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका थिए । उनले रौतहट घर भएका निराकर रायमाझी र लिलाकर रायमाझीको अभिभावकत्व ग्रहण गरेका थिए ।
ढुंगेलले उनीहरुलाई हेटौंडा–२ स्थित सिद्वार्थ माविमा भर्ना गराएका थिए । उनीहरुको पढाई खर्च व्यहार्ने भन्दै अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराएका ढुंगेलले त्यसयता ती बालबालिकाको खोजी गरेका छैनन् । मन्त्रीको छोराछोरी बनेर विद्यालय भर्ना भएका उनीहरु अहिले कहाँ छन् भन्ने कुरा विद्यालयलाई समेत थाहा नभएको विद्यालयका प्रधानाध्यापक मोहन शर्मा बताउँछन् । ‘मन्त्रीज्युले अभिभावकत्व ग्रहण गर्छु भनेर दुई बालबालिकालाई विद्यालयमा भर्ना गराउनुभयो । तर, त्यसपछि उहाँले उनीहरुको पढाईमा खासै चासो दिनुभएन । अहिले त हामीलाई पनि उनीहरु कहाँ छन् भन्ने थाहा छैन’, उनले भने । प्रधानध्यापक शर्माले ती बालबालिकाले अघिल्लो वर्षको परिक्षासमेत दिएका छैनन् भने अहिले भर्ना भएका छैनन् । उनीहरु कहाँ छन् भन्ने कुरा विद्यालयलाई जानकारी समेत नभएको उनी बताउँछन् ।
सरकारले भर्ना अभिायन सञ्चालन गर्दा आर्थिक अभावको कारण विद्यालय पुग्न नसकेका बालबालिकाको पढाईको खर्च व्यहोर्ने भन्दै बालबालिकालाई विद्यालयमा भर्ना गर्नेको भीड थियो । सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्म उच्च पदस्थ नेताहरुले अभिभावकत्व ग्रहण गरेको विषयले चर्चा पायो । ४ वर्षअघि धुमधामसँग अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना भएका कयौं बालबालिका र विद्यालयको सम्बन्ध नै टुटिसकेको छ ।तामझामसहित प्रचारप्रसार गर्दै बालबालिकाको अभिभावकत्व ग्रहण गरेका नेताहरुलाई उनीहरुले आफ्नो सन्तान मानेका बालबालिका कहाँ पुगे भन्ने अत्तोपत्तो छैन । अभियानको क्रममा विद्यालय पुगेर भर्ना गराएपछि बालबालिकासँगै सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियान अलपत्र परेको छ ।







