‘माग्ने बनाएर’ मानव बेचबिखनलाई प्रश्रय
हेटौंडा- नेपालमा मानव बेचबिखनको अवस्था भयावह छ । हरेक वर्ष मानव बेचबिखनका नयाँ रुपहरु देखा परिरहेका छन् ।संगठित अपराधका रुपमा मानव बेचबिखन नियन्त्रणमा आउनुको सट्टा झन् बढ्दो क्रममा छ । नेपालका ७७ जिल्लामध्ये मकवानपुरपनि मानव बेचबिखन धेरै हुने जिल्लामा पर्छ । मकवानपुरसहित धादिङ, नुवाकोट, सिन्धुपाल्चोकमा मानव बेचबिखनको घटना विकराल लाग्दो छ । राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदनले मानव बेचबिखनका अवस्था भयावह बनेको देखाइरहेको छ । मानव बेचबिखनको शैलीहरु निरन्तर परिवर्तन भइरहेका छन् । बेचबिखनमा संलग्नहरुले परिस्थतिजन्य अवस्थालाई मध्यनजर गरेर बेचबिखनलाई नयाँ रुप दिने गरेको पाइएको छ ।
मावन बेचबिखनविरुद्धको अभियानका तीन दशक बितिसक्दा पनि नेपालमा मानव बेचबिखन नियन्त्रणमा आउन सकेको छैन् । विभिन्न अध्ययन अनुसन्धानहरुले नेपालमा वार्षिक १८ हजारभन्दा बढी महिला र बालबालिका तथा पुरुषको बेचबिखन भइरहेको देखाएको छ । विगतमा महिला तथा बालिका धेरै बेचबिखनमा पर्छन भने हाल पुरुषपनि बेचबिखनमा पर्ने गरेको अध्ययनले देखाएको छ । हेटौंडामा बिहीवार मानव बेचबिखन रोकथाममा काम गर्दै आइरहेको नारी सीप सृजना केन्द्रले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै अधिवक्ता मुकुन्द अधिकारीले बेचबिखनका फरक–फरक शैली रहेको बताए ।
विगतमा भारतका कोठीमा हुने गरेका मात्रै बेचबिखन मात्र नभई प्रलोभन देखाएर विदेश लैजानेदेखि, श्रम शोषण, रोजगारको हक कुण्ठित, असुरक्षा, बाँच्न पाउने अधिकारको कुण्ठित, सामाजिक बहिष्करण, भेदभाव, शोषणलगायतका क्रियाकलापपनि बेचबिखनको कारक तत्व रहेको अधिवक्ता अधिकारीले बताए । उनले पछिल्लो समय जनप्रतिनिधिहरुले गरिब तथा विपन्नलाई माग्ने बनाएर बेचबिखन गरिरहेको बताए । ‘गाउँ सहरमा सहयोगको नाममा पैसा माग्ने, पैसा माग्न जनप्रतिनिधिले नै कानुन विपरित सिफारिस बनाउनु बेचबिखनमा पर्छ ।,’ अधिकारीले भने । उनले मानिसले माग्ने बनाएर मानव बेचबिखनको प्रश्रय दिने काम भइरहेको बताए ।
हेटौंडालगायतका क्षेत्रमा विपन्न वा सहयोगको नाममा पैसा माग्दै हिँड्नेको संख्या धेरै छ । उनीहरुलाई स्थानीय तहहरुले समस्या भएको प्रभाणित गर्दिएर माग्ने बनाउने गरेका छन् । त्यसरी व्यक्तिलाई माग्ने बनाउनु मानव बेचबिखनविरुद्धको कसुर हुने आउने अधिवक्ता अधिकारी बताउँछन् । उनले श्रम, मनोरञ्जन र शिक्षाका नाममा खुलेआम मानव बेचबिखन भइरहेको बताए । अमेरिकाले डिभीबाट नेपाली विद्यार्थी लैजानुपनि बेचबिखन भएको बताए । ‘अमेरिकाले क्षमता भएकालाई जनशक्तिका रुपमा बोलाउँछ । त्यसरी लगेर १८ घण्टा काम लगाउँछ । त्यो मानव बेचबिखन हो ।,’ अधिकारीले भने । मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित बसाईसराई सम्बन्धी भएको अन्तक्रियामा वर्तमान कानुनी अवस्थाबारे प्रस्तुत गर्दै अधिवक्ता अधिकारीले राजनीतिक शक्तिका आढमा बेचबिखन भइरहेको बताए ।
सबै खाले बेचबिखनलाई गम्भिर रुपमा राज्यले नलिएको उनको भनाई छ । ‘बेचबिखनमा सोझासाझा पर्छन । शक्ति केन्द्रसँग नजिक भएकाहरु भने उम्किने गरेका छन् । बेचबिखन सम्बन्धी पर्याप्त कानुन हुँदापनि यसको उचित कार्यान्वयन नहुँदा समस्या भइरहेको छ ।,’ उनले भने । अधिकारीले मानव अंग र छाला प्रत्यारोपणका नाममा बेचबिखन भइरहेको बताए । लागूऔषध खुवाएर, नक्कली विवाह गरेर, घुम्ने बहानामा, फकाएर र धाकधम्कीबाट धेरै जसो मानव बेचबिखन छिमेकी मुलुक भारतमा हुने गरेको र तेस्रो मुलुकमा १ प्रतिशत मात्रै बेचबिखन रहेको बताए ।
कार्यक्रममा सहभागीहरुले राज्यले कानुन कार्यान्वयनमा जोड नदिए मानव बेचबिखनले भयावह रुप लिँदा ठूलो समस्या देखिनेतर्फ सचेत गराए । बेचबिखन कार्यमा संलग्नलाई बचाउन राजनीतिक शक्ति नै लागेको पाइएको भन्दै नागरिकको सुरक्षामा राज्य गैरजिम्मेवार भइरहेकोप्रति सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । नारी सीप सृजना केन्द्र हेटौंडाले मकवानपुरको राक्सिराङ र बागमती गाउँपालिकामा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रवद्र्धन परियोजना सञ्चालन गर्दै बेचबिखन कार्यलाई नियन्त्रण अभियान चलाइरहेको छ । नारी सीपले वैदेशिक रोजगारीमा गएका परिवार, गरिब तथा विपन्न परिवारलाई आयआर्जनमा जोड्दै जीवीकोपार्जनमा सघाउ पु¥याउँदै आइरहेको छ ।
परियोजनाअन्तर्गत् संस्थाले ३ वर्षदेखि दुई पालिकामा महिला तथा बालबालिकाहरुलाई मानव बेचबिखनविरुद्ध जनचेतना जगाउँदै आइरहेको छ । परियोजना संयोजक ज्योति बम्जनले जीवीकोपार्जनका लागि राक्सिराङ र बागमतीमा गरेर सयौं परिवारलाई बाख्रा, बंगुर पालनदेखि तरकारी उत्पादनमा सहयोग गरेको जानकारी दिइन् । राक्सिराङ र बागमतीमा गरेर संस्थाले एक सय ३९ जनालाई बाख्रापालन तालिम दिएर बाख्रा सहयोग गरेको बम्जनले बताइन् । उनका अनुसार १ सय ६ जनालाई मौसमी तरकारी खेतीको तालिम दिएर प्लाष्टिक टनेल, थोपा सिचार्इंका लागि आवश्यक सामग्री, ३४ जनालाई बंगुर पालनका लागि ४–४ वटा बंगुर सहयोग गरिएको छ । ९० जनालाई मौरीसहित घार वितरण गरेर आयआर्जनमा सहयोग पु¥याइएको नारी सीपकी परियोजना सयोजक बम्जनले जानकारी दिइन् ।
उनले नागरिकको आर्थिक अवस्था बलियो भए मानव बेचबिखन स्वतः नियन्त्रणमा आउने भएकाले जीवीकोपार्जनका उद्देश्यले सहयोग गरेको बताइन् । नारी सीप सृजना केन्द्र मकवानपुरका सदस्य दुर्गा नेपालको सभाध्यक्षतामा भएको अन्तक्रिया कार्यक्रममा नारी सीपका कार्यकारी निर्देशक चिरन्जीवी पौडेल, फिल्ड संयोजक गीता अर्याललगायतको आतिथ्यता थियो ।







