समृद्धि फाइनान्सद्वारा ज्येष्ठ नागरिकको सम्मान
हेटौंडा- हेटौंडा–१ स्थित समृद्धि फाइनान्स कम्पनी लिमिटेड हेटौंडा शाखाले शनिबार हेटौंडा उपमहानगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हेटौंडा उपमहानगरपालिकाको १९ वडाका एकसय जना ज्येष्ठ नागरिक र हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । फाइनान्सका मुख्य व्यवस्थापक विनोदराज पौडेलको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुलाई खादा, सम्मानपत्र र मायाको चिनो दिएर सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडाका नवनिर्वाचित उपप्रमुख राजेश बानियाँ र फाइनान्सको शाखा अवस्थित हेटौंडा–१ का नवनिर्वाचित वडा अध्यक्ष सविन न्यौपानेलाई खादा, सम्मानपत्र र मायाको चिनो दिएर सम्मानित
गरिएको शाखा प्रबन्धक राजन शर्माले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख बानियाँले ज्येष्ठ नागरिकहरु समाजको सम्पत्ति भएकोले उनीहरुको ज्ञान, सीपलाई वर्तमान पिडिलाई सिकाउनु जरुरी रहेको बताए ।
वडा अध्यक्ष न्यौपानेले जुन समाजमा ज्येष्ठ नागरिकको सम्मान र आदर हुन्छ, त्यो समाज नै समृद्ध र शुसंस्कृत समाज हुने भन्दै समृद्धि फाइनान्सले ज्येष्ठ नागरिकको सम्मान गरेर समृद्ध र सुसंस्कृत समाज निर्माणको अभियान थालेकोमा खुशी व्यक्त गरे ।







