सल्लाघारीबाट रुपान्तरित गुम्बाडाँडाको कथा
हेटौंडा- हेटौँडा उपमहानगरपालिका–१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा मकवानपुरको एक महत्वपूर्ण पर्यटकीय स्थल बनेको छ । गुम्बाडाँडा, पछिल्लो समय मकवानपुरको आन्तरिक पर्यटकको रोजाइको क्षेत्र हो । विशेषगरी शनिबार तथा बिदाको दिन गुम्बाडाँडामा आन्तरिक पर्यटकहरुको घुइँचो नै लाग्ने गरेको छ । घुम्न तथा पिकनिक मनाउनको लागि विशेषगरी गुम्बाडाँडा रोजाइमा पर्ने गरेको हो ।
जङ्गलको नजिक रहेको गुम्बाडाँडा अनेकौं कला आकृतिका मूर्ति र विभिन्न प्रजातिका बिरुवा र फूलले सजिएको छ । पछिल्लो समय पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएका विभिन्न भौतिक पूर्वाधारले गुम्बाडाँडाको शोभा झनै बढाएको छ । मौलिकता झल्काउने सामग्रीहरूको आकृति निर्माण गरी पर्यटकको रोजाइको क्षेत्रको रूपमा गुम्बाडाँडा विकास भइरहेको छ । ५.६७ हेक्टर क्षेत्रफलमा फैलिएको गुम्बाडाँडामा २०३४ सालसम्म अव्यवस्थित बस्ती थियो ।
नेपाल सरकारको निर्णयअनुसार सो क्षेत्रको बस्ती चितवनको केरुङमा स्थानान्तरण गरेपश्चात् भने यहाँ जङ्गल बन्न पुगेको थियो । बस्ती स्थानान्तरणपछि वनमा घाँस–दाउरा तथा गाईवस्तु चराउने स्थान बनिरहेको गुम्बाडाँडा २०४० सालमा हर्नामाडीका बासिन्दा र वन कार्यालयका प्रमुखको नेतृत्वमा संरक्षण तथा सम्बद्र्धनको पहल सुरु भएको थियो । स्थानीयबासी र वन कार्यालयको पहलकदमीमा सो क्षेत्रको संरक्षणका लागि वृक्षरोपण कार्य सुरु गरियो ।
सो क्षेत्रमा तत्कालीन समयमा सल्ला र सिसौका बिरुवा रोप्ने र सरसफाइ गर्ने काम सुरुवात गरियो । त्यसपश्चात् सो डाँडाको नाम सल्लाघारीमा परिणत भयो । २०५२ सालमा सो क्षेत्रमा रिह्रो गुम्बा स्थापना भयो । बुद्ध धर्माबलम्वीहरुले सो क्षेत्रमा निर्माण भएको आश्रममा बसेर ज्ञान आर्जन गर्ने कार्यको सुरुवात गरे । हाल बौद्ध दर्शनसम्बन्धी शिक्षा लिएका अनाथ बालक यहाँ बस्दै आएका छन् । उनीहरू बौद्ध दर्शनसम्बन्धी शिक्षा लिइरहेका छन् ।
२०६३ सालपछि तत्कालीन वन उपभोक्ता समितिको पहलमा पर्यटकीय स्थलको लागि संरक्षण समिति बनाएर काम भएको स्थानीयबासी बताउँछन् । उक्त समितिले सो क्षेत्रमा सल्लाघारी–पर्यापर्यटकीय पार्क स्थापनाको काम सुरु गरेको थियो । स्थानीयको साथ सहयोगमा सो क्षेत्रको विकास द्रुतरूपमा हुँदै गर्दा २०७३ सालमा भने हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा नामकरण गरिएको थियो । मूर्तिकलाको विकास र विस्तारकै लागि २०६९ सालमा हेटौँडा–१८, हर्नामाडीमा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भयो । यस कार्यशालाको आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले मंसिर ११ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको थियो ।
कार्यशालामा जापानका सुगिमोतो जुनीचिरो, इटलीका बेटिनो फ्रान्सेली, कोरियाका सिम जुङ सु फ्रान्सकी लेतिचिया दी बजालरे ल्यू योङ चीनलगायत नेपालका १८ जना मूर्तिकारहरू सहभागी थिए । मूर्तिकला कार्यशाला स्थापना भइसकेपछि अहिले हर्नामाडीमा छुट्टै रौनक कायम छ । सो क्षेत्र अवलोकन गर्न आउने पर्यटकहरु प्रायः यहाँ कुदिएका मूर्ति हेर्नमै व्यस्त देखिन्छन् ।
हाल स्थानीय बासिन्दा तथा समाजसेवीहरु हर्नामाडीलाई नै आर्ट भिलेज बनाउनुपर्नेतर्फ केन्द्रित भएका छन् । गुम्बाडाँडामा बाघको आकर्षक पेन्टिङ देख्न सकिन्छ । १४ फिट लम्बाई र २ फिट चौडाईमा बनेको बाघको पेन्टिङ , आर्ट ग्यालरी जस्ता आर्कषक पेन्टिङ पनि गुम्बाडाँडामा देख्न सकिन्छ । गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति पनि स्थापना गरिएको छ । हेटौँडा पर्यटकीय गन्तव्यको रूपमा चिनिएको गुम्बाडाँडालाई थप परिचित बनाउनका लागि बुद्धको मूर्ति स्थापना गरिएको जनाइएको छ । मूर्तिका लागि काठमाडौं महानगरपालिका–६ का सामाजिक व्यक्तित्वहरुले सहयोग गरेका छन् ।
बुद्ध जन्मेको भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये धातुको सबैभन्दा अग्लो मूर्ति स्थापित गरिएको बुद्ध मूर्ति निर्माण समन्वय समितिका संयोजक कमलचन्द्र सुमनले दिए । हर्नामाडी गुम्बाडाँडा अन्तर्राष्ट्रिय मूर्तिकलाले चर्चित रहेको कारण अझ यसलाई थप पर्यटकीय नगर बनाउन मूर्ति स्थापना गरिएको तथा विश्व शान्ति र पर्यटकीय दृष्टिकोणले देशलाई चिनाउने उद्देश्य रहेको समितिले जनाएको छ ।
मकवानपुर जिल्ला काठबाट बनेको परम्परागत नेपाली भाँडो ठेकीका लागि प्रख्यात जिल्ला पनि हो । गुम्बाडाँडामा पर्यटकलाई लोभ्याउने शैलीले ठेकी निर्माण गरिएको छ । संघीय तथा प्रदेश सरकारको बजेटअन्तर्गत् करिब साँढे पाँच फिट उचाई र चार फिट चौडाईको ठेकी निर्माण गरिएको छ । अहिले काठको ठेकीको लागि प्रख्यात मकवानपुरमै ठेकी पाउन छाडेपछि परम्परागत भाँडोको संरक्षणका लागि ठेकी निर्माण गरिएको जनाइएको छ ।







