विपद्को जोखिम नियन्त्रणको पूर्व सावधानी
हेटौंडा-वर्षायाम सुरु भएसँगै निम्तन सक्ने विपद्को जोखिम नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले पूर्व सावधानी अपनाइएको जनाएको छ । जिल्लाको सबै स्थानीय तहमा विपद्का घटनाको जोखिम रहेकोले उक्त जोखिम न्युनिकरणको लागि पूर्व सावधानी अपनाइएको जनाएको हो । दिनहुँजसो वर्षा भइरहेकोले बाढी र पहिरोका कारण कतै समस्या भइहाले उद्वारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली तयारी अवस्थामा राखिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले तीन वटै सुरक्षा निकायमा २५ जनाका दरले ७५ जनाको टिम तयारी अवस्थामा रहेको पनि जनाएको छ ।
बाढी, पहिरो जस्ता विपद्को घटना भएमा तत्काल खोज तथा उद्धारका लागि टोली परिचालन हुने मकवानपुका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनले तीन वटै सुरक्षा निकायको टोली खोज र उद्दारका लागि सामाग्रीसहित तयारी अवस्थामा रहेको बताए । जिल्लाको १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति रहेका छन् । ती व्यवस्थापन समितिसंगै जिल्लास्तरको समिति तयारी अवस्थामा राखिएको उनको भनाई छ ।







