अवैध लागूऔषधसहित तीनजना पक्राउ
हेटौंडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले अबैध लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेटसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले भीमफेदी–६ स्थित सडकमा सुमोमा सवार दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज ३५५३ नम्बरको यात्रुबाहक सुमोलाई रोकी चेकजाँच गर्दा सुमोमा सवार तनहँु जिल्ला देबघाट–४ का २१ वर्षीय सरोज भुजेल र धुलीखेल–९ का २३ वर्षीय जंगबहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट फेला पारेको थियो । प्रहरीले लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
यस्तैगरी अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले एक किलो ४ सय ग्राम गाँजासहित बकैया–५ की ३५ वर्षीया फूलमाया भुलुनलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुढेँबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो १ बजेको समयमा राक्सिराङ–१ स्थायी घर भई हाल बकैया–५, कर्मचुली बस्ने भुलुनलाई नियन्त्रणमा लिएको जनाएको छ । भुलुनको घरमा चेकजाँच गर्दा घरभित्र्र राखिएको अवस्थामा गाँजा भेटिएको हो । प्रहरीले लागूऔषध गाँजासहित भुलुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।







