सबै वडामा पुस्तकालय स्थापना गर्न आग्रह

साझाकुरा
२०७९ जेष्ठ ३०, सोमबार ११:३१

हेटौंडा- पुस्तकालय अभियान समूह मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापना गर्न आग्रह गरेको छ ।  अभियानले उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई १९ वटै वडामा पुस्तकालय स्थापना गर्न आग्रह गरेको हो । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अभियान समूहले पुस्तकालय स्थापनाका लागि सञ्चालित अभियानको विषयमा जानकारी गराउँदै नगर प्रमुख र उपप्रमुखलाई अनुरोध पत्रसमेत बुझाएको छ । पुस्तकालय अभियान समूहका सदस्य निमेष निखिल र प्रतिमा श्रेष्ठले नगर प्रमुख र उपप्रमुखलाई अनुरोधपत्र बुझाएका हुन् ।

अनुरोध पत्र बुझ्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ र कार्यक्रम उपस्थित वडाध्यक्षहरुले पुस्तकालय स्थापनाका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् । मेयर लामाले पुस्तकालय स्थापना र सञ्चालनका लागि नागरिकस्तरबाट आएको प्रस्ताव महत्वपूर्ण रहेकोले आगामी आर्थिक वर्षको बजेटमा पुस्तकालय स्थापनाको योजनालाई समावेश गर्ने बताइन् ।

नगर उपप्रमुख राजेश बानियाँले सभ्य समाज निर्माणका लागि पठन संस्कृतिको विकास गर्नुपर्ने बताउँदै इतिहास जान्न पढ्नुको विकल्प नभएको र पढ्नका लागि पुस्तकालय आवश्यक भएको बताए । १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले नगरभित्रका हरेक वडा पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले अभियानका बारेमा जानकारी गराएका थिए । अहिलेसम्म पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लामा १२ वटा तथा बारा र रौहतटमा एक एक वटा गरी कूल १४ वटा पुस्तकालय स्थापना गरिसकेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*