राक्सिराङमा बजेट निर्माणबारे सरोकारवाला निकायसँग अन्तरक्रिया
हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका सन्दर्भमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ ।आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने सम्बन्धमा सरोकारवाला निकायँसग चैनपुरस्थित गाउँपालिका कार्यालयमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कुन कुन विषयलाई कसरी समेट्न सकिन्छ ? कुन शीर्षकलाई प्रथमिकता दिन आवश्यक छ ? भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा जनप्रतिनिधिसहित स्थानीय, गाउँपालिकामा रहेका विभिन्न सरकारी, गैरसरकारी संघ संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, राजनैतिक दलका प्रतिनिधिको अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रजाले गाउँपालिकाले गरेको अन्तरक्रिया कार्यक्रमले सबैलाई समेट्न सहयोग पग्ने भन्दै निती तथा कार्यक्रम निर्माण गर्दा आवश्यक पक्षलाई ध्यान दिन आग्रह गरे ।गाउँपालिका अध्यक्ष मल्लले छलफल र अन्तरक्रियाबाट आएका विषयलाई सम्बोधन गर्दै आवश्यक विषयलाई नीति कार्यक्रममा समेट्ने बताए । उनले छलफलमा उठेका कुराहरुले गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न मार्गदर्शन मिल्ने बताए ।







