बिहानदेखि साँझसम्म लाइनको चक्कर काट्छन् बिरामी

अस्पतालमा भद्रगोल
साझाकुरा
२०७९ असार ४, शनिबार १३:१९

हेटौंडा- जिल्लाको एकमात्र सरकारी हेटौंडा अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको छ ।वर्ष दिनअघि हेटौंडा अस्पतालमा उपचारका लागि आएका बिरामीको अनुपातमा यसवर्ष बिरामीको संख्या दोब्बर भएकाले भिड बढेको अस्पतालले जनाएको छ । मौसमी बिरामीका कारणपनि अस्पतालमा बिरामीहरुको भिड थामिनसक्नुको छ । अस्पताललाई व्यवस्थापनमा कठिनाई भएपछि उपचारका लागि आएका बिरामीले धेरै दुःख पाउने गरेको पाइएको छ । गर्मीमा बिरामीहरु तातो जस्तामुनी घण्टौं लाइन बसेर ओपिडीको टिकट काट्नेदेखि औषधि लिनु पर्ने बाध्यतामा छन् । बिहान ६ बजेदेखि अस्पतालमा भिड लाग्ने गरेको छ ।
ओपिडी टिकट पाउन पहिला टोकन लिनुपर्ने व्यवस्था छ । टोकन बुझाएपछि मात्रै ओपिडी टिकट पाइन्छ । टोकन लिन निश्चित समय तोकिएपनि सर्वसाधारणहरु त्यसको करिब दुई घण्टा अघिदेखि नै टोकनको लाइनमा बस्ने गरेका छन् । टोकन लिएर घण्टौ समय कुरेपछि बल्ल ओपिडी टिकट पाइन्छ । टिकट काटेर १० बजेपछि उपचारका लागि बल्ल ओपिडीमा चिकित्स भेट्न पाइन्छ । चिकित्स भेट्नपनि बिरामीहरु घण्टौसम्म कुरेर बस्नुपर्ने बाध्यता छ । उपचारपछि औषधि लिनदेखि रगत, पिसाब र दिसा जाँचदेखि एक्सरे गर्नपनि पुनः लाइनमै बस्नुपर्ने समस्याबाट अस्पताल पुगेका बिरामीहरु हैरान भएका छन् ।

हेटौंडा अस्पतालमा इमर्जेन्सीका बिरामीसमेत लाइनमा बस्नु परेको छ । ओपिडीका बिरामीको बिल काट्ने र इर्मर्जेन्सीका बिरामीको बिल काट्ने एउटै काउण्ट भएपनि आकस्मिक उपचारका लागि अस्पताल गएका बिरामीहरु निराश हुने गरेका छन् । हेटौंडा अस्पतालमा तत्काल उपचार गर्नुपर्ने बिरामीले पनि तुरुन्तै सेवा पाउँदैनन् । हेटौंडा अस्पतालमा बिरामीको स्वास्थ्यमाथि गम्भिर लापरबाही भइरहेकोप्रति सरोकारवाला निकायकोपनि ध्यान नगएको पाइन्छ । जनस्वास्थ्य सेवा ऐन २०७५ ले ‘आकस्मिक स्वास्थ्य सेवा’ भन्नाले आकस्मिक घटना वा आपतकालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंक गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनु पर्ने परिभाषित गरेको छ ।

तर, हेटौंडा अस्पतालमा आकस्मिक उपचारकै लागि आउने बिरामी भने सेवाबाट बञ्चित छन् । संविधानको धारा ३५ मा ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी उल्लेख भएको परिभाषालाई अस्पतालको व्यवस्थापनले झापड हानेको छ । अस्पताल पुगेका एउटा बिरामीलाई बिहान टोकन लिएपछि पूर्ण स्वास्थ्य उपचारका लागि साँझसम्म लाग्ने गर्छ । भिडभाड नहुने अवस्था भए उक्त उपचारका लागि करिब २ घण्टा लाग्ने गरेकोमा हेटौंडा अस्पताल पुगेका बिरामीले करिब ६ देखि ८ घण्टासम्म चक्कर काट्नु परेको हो । हेटौंडा–१७ की पार्वती धमला ४ दिनदेखि अस्पताल धाउँदै आइरहेकी छन् । ६ वर्षीय छेरा बिरामी भएपछि अस्पताल आएकी उनले चार दिनसम्मै हरेक गतिविधिमा लाइन बस्नुपर्दा दिक्कै लागेको प्रतिक्रिया दिइन् । ‘अस्पतालमा सबै बिरामी भएर आएका हुन्छन् कस्लाई के भन्ने, धेरै भिड र अस्पतालले लापरबाही गर्दा हामीले धेरै दुःख पायौं ।,’ उनले भनिन् ।

अस्पतालमा रगत जाँचका लागि कहालीलाग्दो भिड देखेर आफूले बाहिर मेडिकलमा जाँच गराएर छोराको उपचार गराएको उनको भनाई छ । ‘यहाँ सामान्य रगतको मात्रै जाँच हुँदो रहेछ । रगतको अलि ठूलो परीक्षण गर्नुपरे बाहिर जानु पर्ने । त्यही सामान्य जाँच गर्नपनि दुई घण्टा कुरेपछि बल्ल पालो आउने रहेछ । त्यही भएर सबै रगतको जाँच बाहिर गराए । छिटो उपचार पनि गर्नुपरेको छ । यहाँ कुरेर बस्यो भने बिरामी झन बिरामी हुने भएकोले बाहिर पैसा तिरेर उपचार गराएँ ।,’ उनले सुनाइन् । अघिल्लो दिन अस्पतालमा गरेको रगत जाँच र भोलीपल्ट बाहिर गरेको जाँचमा समेत फरक आएको धमलाले जानकारी दिइन् । अस्पतालमा रगत जाँच गर्दा शरिरमा सेतो रगतको मात्रा ५५ हजार देखाएको र बाहिर गर्दा ८३ हजारको मात्रा देखाएको उनको भनाई छ ।

हेटौंडा अस्पतालमा दैनिक ५० जनाले मात्रै भिडियो एक्सरे गर्न पाउँछन् । एकजना मात्रै डाक्टर भएकाले निश्चित बिरामीको मात्रै भिडियो एक्सरे गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताए । उनले केही दिनभित्रै भिडियो एक्सरेको समस्या समाधान हुने बताए ।भरतपुर र काठमाडौंबाट थप दुई जना डाक्टर आउन लागेकाले बिहानदेखि बेलुकासम्मै भिडियो एक्सरे हुने साझाकुरालाई जानकारी दिए । मेसु सापकोटा अस्पतालको व्यवस्थापनमा भएको कमजोरी लुकाउँदै बिरामीको चाप बढेको कुरालाई बढी प्राथमिकता दिने गरेका छन् ।

अस्पतालमा बिरामीको चाप भने बढेको छ । बिरामीको चाप बढेपछि अस्पतालको व्यवस्थापनको कमजोरीका कारण अस्पताल भद्रगोल हुनुका साथै बिरामीले दुःख पाएका हुन् । अस्पतालका अनुसार गतवर्षको जेठमा करिब ६ हजार बिरामीले उपचार लिएका थिए ।तर, यसवर्षको जेठमा करिब १२ हजारले सेवा लिएका छन् । बिरामीको संख्या दोब्बरले बढेपनि जनशक्ति व्यवस्थापन मिलाउन नसकेको अस्पताल प्रशासनले बिरामीको चापलाई दोष दिएर उम्किन खोजेको छ । अस्पतालले उपचार सेवालाई वृद्धि भने गरेको छ । अस्पतालमा हाल केही विभागहरु थप गरिएको निमिक्त मेसु सापकोटाले जानकारी दिए ।

अस्पतालमा सर्जिकल, न्युरो ओपिडी, ज्येष्ठ नागरिकको ओपिडीपनि सञ्चालनमा आएकोले बिरामीको संख्या ह्वात्तै बढेको उनी बताउँछन् । एउटै भवनमा दशकौं वर्षदेखि काम गरेको र अहिले बिरामीको संख्यापनि बढ्दा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाई छ ।उनले हाल अस्पतालमा दैनिक ८ सय जना बिरामीको भिड लाग्ने गरेकोले व्यवस्थापनमा गाह्रो भएको बताए । अस्पतालमा नयाँ भवनमा सेवा सुरु गरेपछि हाल देखिएका सबै समस्या समाधान हुने उनी बताउँछन् । निर्माणधीन नयाँ भवनमा सरेपछि सेवाहरु पनि थप विस्तार हुने निमिक्त मेसु सापकोटाले जानकारी दिए ।नयाँ भवनमा आएपछि सिटीस्क्यान सञ्चालन हुने र त्यसको ६ महिनापछि एमआरआई सेवा सुरु हुने उनले बताए । बालबालिकाका लागि एनआइसियूपनि सञ्चालनमा आउने उनको भनाई छ ।

नयाँ भवनमा आउन करिब एक महिना लाग्ने सापकोटाले बताए । अस्पताल निर्माण गरिरहेको कम्पनीले सम्झौता अनुसार असार मसान्तभित्र काम सक्काउन पर्ने भएकोले कामपनि अन्तिम चरणमा रहेको उनले बताए ।साउनदेखि नयाँ भवनबाट सेवा दिने उनले विश्वास दिलाएका छन् । हेटौंडा अस्पताल हाल ५० बेडको हो । बागमती प्रदेश
सरकारले २ सय शैयाको अस्पतालमा स्तरोन्नती गर्ने आगामी आवको बजेटमा उल्लेख गरेको छ । २ सय शैयामा अस्पताल स्तरोन्नती भएसँगै जनशक्ति व्यवस्थापन हुने र
बिरामीलाई कहिल्यै समस्या नहुने गरी अस्पताल अघि बढ्नेमा सापकोटाले विश्वास दिलाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*