हेटौंडाको १९ वटै वडाले आगामी वर्षमा पाउने बजेट बढ्ने

साझाकुरा
२०७९ असार ६, सोमबार १०:०३

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजित बजेटमा १९ वटै वडाले पाउने रकम बढाउने भएको छ । उपमहानगरपालिकाले आगामी आव २०७९÷०८० मा १९ वडामा पाँच बर्षदेखि तोकिएको सिलिङ भन्दा पाँच करोड ७० लाख रुपैयाँ बढाउने भएको हो । नवनिर्वाचित नगर प्रमुख मीनाकुमारी लामाले १९ वटै वडाको सिलिङमा ३०÷३० लाख बृद्वि गरेको जनाएकी छन् । चालु आर्थिक वर्षमा वडा तहमा तोकिएको सिलिङमा बजेटले विकास निर्माणको काममा असहज भएको भन्दै बजेटको आकार बढाएको मेयर लामाले बताइन् ।

२०७४ देखि बजेट सिलिङमा एकरुपता भएपछि मेयर लामाको अध्यक्षतामा जेठ २६ गते बसेको श्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०÷३० लाख रुपियाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको थियो । थपिएको रकमले विकासका कामलाई सहज बनाउन मद्दत पुग्ने मेयर लामाको दाबी छ । बजेट सिलिङ तयार गरेर वडाहरुमा तयारीका लागि पठाएको उपमहानगरले गएको ५ बर्षमा पहिलो पटक नयाँ नेतृत्वसँगै बजेट सिलिङमा बृद्धि गरेको हो । सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ । चालू आर्थिक बर्षहरुमा उपमहानगरका वडाहरुले गरेको कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन । वडागत् बजेट सिलिङ तोकिएर वडाहरुमा गएसँगै योजना छनोटको कार्यहरु चलिरहेको छ ।

वडाहरुवाट बजेट सिलिङ आएपछि हेटौंडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो । सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा समान २ करोड १० लाख बजेट सिलिङ तोकिएको छ भने वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँको दरले तोकिएको छ ।

सिलिङअनुसार वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको उपमाहानगरले जनाएको छ । ३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेकोमा ३६ करोड ५० लाख रुपैयाँ बराबरकोे मात्र बजेट सिलिङ तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए । वित्तीय समानीकरण, राजश्व बाँडफाँड संघीय सरकार, राजश्व बाँडफाँड प्रदेश सरकार र आन्तरिक स्रोतमा २५÷२५ प्रतिशत बजेट सिलिङ रहेको छ । जसमा वडागत् रुपमा आन्तरिक स्रोतबाट ४६ लाख २५ हजार रुपैयाँदेखि ६५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*