सशस्त्र प्रहरीद्वारा विपद् व्यवस्थापन सम्बन्धी तालिम

साझाकुरा
२०७९ असार ६, सोमबार १०:१६

हेटौंडा-सशस्त्र प्रहरी बल नेपालले मकवानपुरको मनहरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला विपद् व्यवस्थापन समितीको संयोजन र सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ गण हेडक्वाटर मकवानपुरले विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएको हो ।स्थानिय तहमा विपद् व्यवस्थापन कार्यका लागि ज्ञान र सीप युक्त स्वयंसेवक उत्पानदन गरी विपद्बाट हुन सक्ने क्षतीलाई न्युनिकरण गर्न मनहरी गाँउपालिकामा विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको जनाइएको छ ।कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले विपद् न्युनिकरण गर्न विभिन्न सरोकारवाला पक्षसँग सहकार्य गरी बागमती प्रदेशका पालिकाहरुमध्ये पहिलो चरणमा मकवानपुर, चितवन र सिन्धुपाल्चोक जिल्लाका विभिन्न १० वटा पालिकाहरुमा तालिम सञ्चालन गरिएको जानकारी दिए ।

तालिमले नै समाजमा अनुशासित र दक्ष जनशक्ति उपलब्ध हुने उनको भनाई छ । तालिममा सिकेका सिपले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै फाइदा पुग्ने मन्त्री खनालले बताए । उनले विपद् व्यवस्थापन अभिमुखीकरण तालिमले विपद् न्युनीकरण गर्नमा ठुलो मद्दत पुग्ने बिश्वास समेत व्यक्त गरे । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले विपद् व्यवस्थापन तालिमले आपतकालिन् अवस्थामा जोखिम र क्षति न्युनीकरण गर्नमा ठुलो मद्दत पुग्ने बताए ।तालिमबाट विपद् व्यवस्थापन सम्बन्धी ज्ञान र सीपयुक्त स्वयंसेवक उत्पादन हुने उनले अपेक्षा राखे । कालाखेतीले गाउँपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापनाको पहल गर्ने समेत बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमलाई सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए । तालिममा विपद् व्यवस्थापन, विपद् व्यवस्थापनमा स्थानिय तहको भुमिका, चट्याड्ड, भुकम्प, आगो तथा आगो नियन्त्रण सम्बन्धी सैद्धान्तिक जानकारी र सोही विषयहरुमा व्यवहारिक अभ्यास तथा डेमो प्रदर्शनी गरिएको थियो ।त्यसैगरी भत्केका घरहरुबाट पिडितको खोजी तथा उद्दार, बाढी, पहिरो तथा उद्दार, सडक दुर्घटना, प्राथमिक उपचार, घटना अध्ययन लगायतका बारेमा सैद्धान्तिक जानकारी र सोही विषयहरुमा व्यवहारिक अभ्यास तथा डेमो प्रदर्शनी तालिम सञ्चालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*