अस्पतालका डाक्टर बिरामी जाँच्न छोडेर हिँडेपछि…

साझाकुरा
२०७९ असार ७, मंगलवार १०:२६

हेटौंडा- जिल्लाको एकमात्र सरकारी हेटौँडा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार भन्दापनि बढी हैरानी खेप्नु परेको गुनासो आएको छ । अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण बिरामीहरुले उपचारमा कठिनाई भोग्दै आएको भन्दै सोमबार सर्वसाधारणहरुले अस्पतालमा धर्ना कसेका छन् । उपचारका लागि आएका बिरामीले धेरै दुःख पाउने गरेको दीपेन्द्रचन्द ठकुरीले गुनासो गरे ।गर्मीमा बिरामीहरु तातो जस्तामुनि घण्टौं लाइन बसेर ओपिडीको टिकट काट्नेदेखि औषधि लिनुपर्ने बाध्यतामा छन् । बिहान ६ बजेदेखि अस्पतालमा भिड लाग्ने गरेको छ । बिरामीको अत्यधिक भिडका कारण अस्पताल प्रशासनले व्यवस्थापन मिलाउन नसकेपछि बिरामीहरु प्रशासनविरुद्ध खनिएका छन् ।

अस्पतालका चिकित्सकहरु बिरामी जाँच गर्ने पूरा समय नबस्ने गरेका कारण कतिपय बिरामीहरुले समयमै उपचार पाउन नसकेको गुनासो आएको छ । चिकित्सकहरुको लापरबाही बढेपछि सोमबार सर्वसाधराणहरु अस्पताल गेटमा बसेका थिए । धर्ना बसिरहेका बेला अस्पतालमा करारमा कार्यरत् अर्थोपेडिक डाक्टर रविराज देवकोटा स्कुटर लिएर बाहिर निस्किए । उनलाई गेटमा धर्ना कसेर बसेका सर्वसाधारणले रोकेर बिरामी जाँच गर्ने समय बाँकी हुँदै कता हिँडेको ? भन्दै प्रश्न गर्दा डा.देवकोटा नाजवाफ बने । उनले जाँच गर्ने बिरामी नरहेकोले बाहिर हिँडेको बताएका थिए । ‘पेसेन्ट सक्किएपछि अस्पतालमा राउण्ड सकेर म हिँडेको हो’, उनले भने ।

डा. देवकोटाको त्यति उत्तरले पार लागेन । बिरामी जतिबेला पनि आउन सक्नेभन्दै ड्यिुटी सकिनु अगावै हिँड्न नहुने माग सर्वसाधारणको थियो । जवाफमा उनले त्यो कुरा ठीक रहेको बताएका थिए । सर्वसाधारणले अस्पतालमा बिरामी जाँच्न छोडेर मेडिकलमा हिँडेको आरोप लगाएपछि उनले कुनै मेडिकलमा नहिँडेको प्रष्ट पारेका थिए । डा. देवकोटाले अबदेखि आफू पूरा समय बसेर मात्रै निस्किने प्रतिबद्धता जाहेर गरेका छन् । डा. देवकोटाको गतिविधिमाथि उनीहरुले शंका गरेका छन् । डा. देवकोटा चिकित्साको पोशाक नलगाई र परिचयपत्र नबोकी हिँडेका थिए ।

धर्नामा सहभागी दीपेन्द्रचन्द ठकुरीले देवकोटालाई पहिलो र अन्तिम सुझाव भएको भन्दै कारबाही गर्ने चेतावनी दिए । अस्पतालका डाक्टरमाथि उनीहरुले निगरानी बढाउने बताएका छन् । धर्नामा सहभागी किशोर अर्यालले अब हरेक दिन ११ बजेदेखि १ बजेसम्म अस्पतालमा धर्ना कस्ने सार्वजनिक आह्वान गर्दै सबैलाई उपस्थित हुन आग्रह गरे ।
सर्वसाधारणहरु त्यतिकै रोकिएनन् । उनीहरुले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.रामचन्द्र सापकोटालाई पनि कडा चेतावनी दिए । अस्पताल प्रशासनले लापरबाही गर्ने चिकित्सकहरुलाई कुनै कारबाही नगरे अब जनताले नै कारबाही गर्ने चेतावनी उनीहरुको थियो । मेसु सापकोटाले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुने बताएका छन् । आन्दोलनरत् सर्वसाधारणहरुले अस्पतालमा मनलाग्दी भैरहेकोले बिरामीले कुनै दुःख र समस्या भोग्नु परे राम्रो नहुने चेतावनी दिएका छन् ।

अस्पतालमा टोकन काट्नदेखि चिकित्सकलाई देखाउन र औषधि लिदासम्म ३ दिनदेखि ४ दिनसम्म लाग्ने गरेको उनीहरुले मेसु सापकोटालाई अवगत गराउँदै तत्काल सुधारको लागि आग्रह गरे । वर्ष दिनअघि हेटौंडा अस्पतालमा उपचारका लागि आएका बिरामीको अनुपातमा यसवर्ष बिरामीको संख्या दोब्बर भएकाले भिड बढेको अस्पतालले जनाएको छ ।मौसमी बिरामीका कारण पनि अस्पतालमा बिरामीहरुको भिड थामिनसक्नुको छ । ओपीडी टिकट पाउन पहिला टोकन लिनुपर्ने व्यवस्था छ । टोकन बुझाएपछि मात्रै ओपीडी टिकट पाइन्छ । टोकन लिन निश्चित समय तोकिएपनि सर्वसाधारणहरु त्यसको करिब दुई घण्टा अघिदेखि नै टोकनको लाइनमा बस्ने गरेका छन् ।
टोकन लिएर घण्टौ समय कुरेपछि बल्ल ओपिडी टिकट पाइन्छ ।

टिकट काटेर १० बजेपछि उपचारका लागि बल्ल ओपीडीमा चिकित्सक भेट्न पाइन्छ । चिकित्सक भेट्न पनि बिरामीहरु घण्टौसम्म कुरेर बस्नुपर्ने बाध्यता छ । उपचारपछि औषधि लिनदेखि रगत, पिसाब र दिसा जाँचदेखि एक्सरे गर्नपनि पुनः लाइनमै बस्नुपर्ने समस्याबाट अस्पताल पुगेका बिरामीहरु हैरान भएका छन् । सबै उपचार सकेर डाक्टरहरुलाई रिपोर्ट देखाउन पनि नपाइने उनीहरुको गुनासो थियो । बिरामी जाँच्ने समय अगावै डाक्टरहरु निस्किने गरेकाले बिरामीहरुले दुःख पाएको सर्वसाधारणहरुले गुनासो गरेका छन् । कैलाश गाउँपालिका १० बाट आएका एक बिरामीले बिमा गरेरपनि अस्पतालबाट सबै औषधि नपाएको भन्दै गुनासो पोखे ।
अस्पतालले बिमाका बिरामीलाई सस्तो औषधिमात्रै उपलब्ध गराउने गरेको र महंगो औषधि बाहिर किन्न पठाउने गरेको बिरामीले गुनासो गरेका छन् । भिडियो एक्सरे पनि पर्याप्त बिरामीले गर्न नपाएको भन्दै उनीहरु अस्पतालबिरुद्ध खनिए ।

अस्पतालभित्रको क्यान्टिनले बिरामीहरुलाई खुलेआम ठगी गरिरहेको भन्दै धर्नामा बसेका सर्वसाधारणहरु आक्रोशित बनेका छन् । मिनिरल वाटरकै ३० रुपैयाँ लिएको भन्दै तत्काल कारबाही गर्न मेसु सापकोटालाई उनीहरुले अनुरोध गरे । अस्पतालमा इमर्जेन्सीका बिरामीसमेत लाइनमा बस्नु परेको छ । ओपीडीका बिरामीको बिल काट्ने र इर्मर्जेन्सीका बिरामीको बिल काट्ने एउटै काउण्टर भएपनि आकस्मिक उपचारका लागि अस्पताल गएका बिरामीहरु निराश हुने गरेका छन् । अस्पतालमा तत्काल उपचार गर्नुपर्ने बिरामीले पनि तुरुन्तै सेवा पाउँदैनन् । बिरामीको स्वास्थ्यमाथि गम्भीर लापरबाही भइरहेकोप्रति सरोकारवाला निकायको पनि ध्यान गएको छैन । अस्पतालमा नयाँ भवनमा सेवा सुरु गरेपछि सबै समस्या समाधान हुने मेसु सापकोटाले बताए । थप सेवा बिस्तारको तयारी पनि भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*