पहिरोले छोटो मार्ग अवरुद्ध

साझाकुरा
२०७९ असार ७, मंगलवार १०:४०

हेटौंडा- वर्षाका कारण आएको पहिरोले हेटौंडा–कुलेखानी–काठमाडौं जोड्ने छोटो मार्ग अबरुद्ध हुन पुगेको छ । छोटो मार्गअन्तर्गत् भैंसे–भीमफेदी सडक खण्डमा सोमबार पहिरो खसेको थियो । छोटो मार्ग आइतबार पहिरोले अवरुद्ध भएको सडक खुलेको केही घण्टामै सोमबार पुनः अवरुद्ध हुन पुगेको हो । भैंसे–भीमफेदी सडक खण्ड फराकिलो पार्ने कामले निर्माण भइरहेकाले पहिरोको अत्यधिक खतरा छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले भैंसे–भीमफेदी सडक खण्ड निर्माण गरिरहेको छ । १० मिटर चौडा सडक निर्माण गर्न पहाड भत्काइएको छ । सोही पहाड भत्काउँदा पहिरोको जोखिम बढेको हो ।भीमफेदी गाउँपालिकाको भैंसे बजारबाट करिब दुई किलोमिटरभित्र र इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको हो । पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमिक्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जनाए ।

पहिरोले सडक बन्द भएपछि हटौंडा–काठमाडौं अवातजावत गर्ने सयौं दुई पांग्रे र चार पांग्रे सवारीसाधन अलपत्र परेका छन् । हजारौं यात्रुको सडकमै बास भएको छ । सोमबार साँझ समाचार तयार पार्दासम्म सडक अवरुद्ध रहेको र पहिरो पन्छाउनका लागि पहल भइरहेको खबर साझाकुरालाई प्राप्त भएको छ ।प्रहरी निरीक्षक घिमिरेका अनुसार कुलेखानी–सिस्नेरीतर्फ अन्दाजी १० मिटर सडकमा पहिरो खसेको छ । दुवै स्थानको पहिरो हटाउन पहल भइरहेको प्रवक्ता घिमिरेले बताए । वर्षामा छोटो मार्ग पहिरोको उच्च जोखिममा छ । फर्पिङदेखि भैंसेसम्म विभिन्न चरणमा सडक निर्माण भइरहेकाले पहिरो खस्ने क्रम बढेको स्थानीयहरु बताउँछन् । गतवर्ष छोटो मार्गमा पहिरो जाँदा सवारीसाधनमा क्षति पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*