हेटौंडाको नीति कार्यक्रम कार्यपालिकाबाट पारित
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट ल्याउने तयारी गरेको छ ।संविधानतः संघीय सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटपछि स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउने छन् । सोहीअनुसार प्रदेश सरकारको पनि बजेट प्रस्तुत भएपछि मकवानपुरका स्थानीय तहहरु बजेट ल्याउने तयारीमा जुटेका हुन् ।बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले साढे २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । बजेटअघि १० असारमा उपमहानगरले नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्ने भएको छ ।
मंगलबार बसेको कार्यपालिका बैठकले १० गतेलाई नगरसभा बोलाएको छ । नगरसभामा उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्न बैठक बोलाइएको थियो । उक्त बैठक मेयरको अधिकार कटौती गर्ने संशोधन प्रस्ताव लगेको नेकपा एमालेले बहिष्कार गरेको थियो । एमालेले बैठक बहिष्कार गरेपनि मंगलबार नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित भएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
नियमानुसार गणपुरक संख्या पुगेको कार्यपालिका बैठकमा नगर प्रमुख मिनाकुमारी लामाले नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गर्न उपप्रमुख राजेश बानियाँमार्फत् योजना महाशाखा प्रमुख भीम तिमल्सिनालाई जिम्मेवार दिएकी थिइन् । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा एमालेबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरु बैठकबाट बाहिरिएको प्रवक्ता न्यौपानेले बताए । एमालेले बैठक सञ्चालन सम्बन्धी कार्यविधि संशोधनको प्रस्ताव लगेको थियो । जसमा मेयरको अधिकार कटौती गर्नुपर्ने माग थियो ।
सबैको उपस्थितिमा नीति तथा कार्यक्रम छलफलका लागि पेश भइरहँदा एमालेले आफूहरुले ल्याएको संशोधन प्रस्ताव दर्ता नभएको भन्दै असन्तुष्टी जनाउँदै बैठक छाडेर हिँडेको प्रवक्ता न्यौपानेले जानकारी दिए । २९ सदस्यीय कार्यपालिकामा १८ सदस्यसहित एमालेको बहुमत छ । तर, बैठक सञ्चालन कार्यविधिअनुसार बजेट कार्यक्रम नीति तथा स्थानीय तहको नियमावली बाहेकको विषयमा १५ (२) बमोजिम निर्णय हुन नसकेमा व्यक्तिगत उत्तरदायित्व निजमाथि रहने गरी नगर कार्यपालिकाको प्रमुखले गरेको निर्णय अन्तिम हुनेछ भनिएको छ । ‘बैठकमा कोरम पुगेर सबै जनाको उपस्थित भएपछि नीति कार्यक्रम टेबल भएको हो । प्रस्तुत गर्ने बेलामा संशोधन प्रस्ताव दर्ताको विषय एमालेले अगाडि बढाएको थियो’, न्यौपानेले भने ।
उपमहानगरले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्याड्ढ महाशाखा प्रमुख तिमल्सिनाले र्बैठकमा नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए । नगर प्रमुख लामाले नगरसभामा नीति कार्यक्रम पेश गर्ने निर्णय गरेकी हुन् ।
एमालेले नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिमार्फत् आउनुपर्ने बताएको छ । हेटौंडा उपमहानगरपालिकाको ५ वटा विषयगत समितिहरु गठन हुन नसकेको र विधिअनुसार नीति, कार्यक्रम र बजेट मस्यौदा नआएकोले बैठक बहिष्कार गर्न बाध्य भएको कार्यपालिका सदस्य सुनिल मोक्तानले बताए ।मेयरको अधिकार कटौती गर्ने प्रस्ताव हेटौंडा÷नेकपा एमालेका कार्यपालिका सदस्यहरुले मेयरको अधिकार कटौती गर्ने संशोधन प्रस्ताव अघि बढाएपछि बैठक बहिष्कार भएको पाइएको छ ।
एमालेको प्रस्तावमाथि मेयर र अन्य कार्यपालिका सदस्यहरुले असहमति जनाएपछि एमालेका सदस्यहरु बैठक बहिष्कार गरेर हिँडेको प्रवक्ता न्यौपानेले बताए । एमालेले कार्यविधिको नियम १५ (२) बैठकको निर्णय सामान्यतया सर्व सम्मतिको आधारमा गर्नुपर्ने र मत विभाजन हुने अवस्थामा बैठकमा बहुमत सदस्यको निर्णय मान्नुपर्ने प्रस्ताव गरेको थियो । बैठक सञ्चालन सम्बन्धि कार्यविधिमा १५(२) बैठकको निर्णय सामान्यतया सर्वसम्मतिको आधारमा हुनेछ र मत विभाजन हुने अवस्थामा अध्यक्षता गर्ने व्यक्तीसहित बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिने उल्लेख छ ।
एमालेले कार्यपालिकामा आफ्नो बहुमत भएपछि बहुमतको निर्णय लागू गर्ने रणनीतिसाथ प्रमुखको अधिकार कुण्ठित पार्न कार्यसञ्चालन नियमावली संशोधनको प्रस्ताव गरेको बुझिएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐनमा प्रमुखको निर्णय नै अन्तिम हुनेसम्मको अधिकार रहेकोले त्यसमा बहुमत वा अल्पमतको विषयले कुनै अर्थ राख्दैन’, उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेले भने ।







