‘अस्पतालमा धेरै सुधार गरेका छौं, हामीलाई बुझेनन्’
हेटौंडा- हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रामचन्द्र सापकोटाले अस्पतालको उपचार सेवामा व्यापक सुधारका काम भएपनि कसैले बुझ्न नसकेको गुनासो गरेका छन् ।५० बेडको अस्पतालमा धेरै सेवा सुविधा र बिरामीको उपचारमा सुधार गरेपनि सर्वसाधारणबाटै बुझ्ने काम नभएको गुनासो गरेका हुन् । हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीको चाप बढेर व्यवस्थापन अस्तव्यस्त बनिरहेको विषयमा सर्वसाधारणले अस्पताल प्रशासनमाथि प्रश्न उठाउँदै आएका छन् ।
तर, अस्पताल प्रशासनले बिरामीको चाप अत्यधिक बढेकाले व्यवस्थापनमा कठिनाई भएको तर, बिरामीको उपचारमा भएको सुधारमा कसैले ध्यान नदिएको जनाइएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दैै मेसु डा. सापकोटाले विगतमा भन्दा अस्पतालमा धेरै सुधारका काम भएको बताउँदै केही साना कमजोरीलाई ठूलो मुद्दा बनाइएको प्रति चिन्ता व्यक्त गरे । सोमबार सर्वसाधारणहरुले अस्पताल परिसरमा धर्ना कसेर चिकित्सकहरुमाथि गलत व्यवहार भएको भन्दै प्रशासनले भत्र्सनासमेत गरेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले चिकित्सहरु अस्पताल समय छोडेर कतै मेडिकलमा नगएको बताएका छन् ।
धर्नामा बस्नेहरुले चिकित्सकहरुलाई अस्पताल समयमा मेडिकल गएको आरोप लगाएको भन्दै कोही चिकित्सक मेडिकल गएको प्रमाण ल्याए कारबाही गर्ने चेतावनी उनले दिए । अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण बिरामीहरुले उपचारमा कठिनाई भोग्दै आएको भन्दै सोमबार सर्वसाधारणहरुले अस्पतालमा धर्ना कसेका थिए ।
उपचारका लागि आएका बिरामीले धेरै दुःख पाउने गरेको, गर्मीमा बिरामीहरु तातो जस्तामुनि घण्टौं लाइन बसेर ओपीडीको टिकट काट्नेदेखि औषधि लिनुपर्ने बाध्यता रहेको, बिरामीहरुले भिडियो एक्सरे गर्न नपाएकोलगायतका गुनासो राखेका थिए ।
धर्नामा सहभागीहरुले चिकित्सकहरुलाई पहिलो र अन्तिम सुझाव भएको भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।अस्पताल व्यवस्थापन पक्षले कमिकमजोरी भएको खण्डमा सुधार्ने र सेवालाई चासो दिँदै बिरामीलाई सुविधाका साथ सेवा गर्ने प्रतिवद्धता मेसु डा. सापकोटाले गरे । मेसु सापकोटाले कर्मचारीको अभाव र आवश्यक प्रविधि नभएकोले अस्पतालमा उपचार गराउन समस्या भएको बताएका छन् ।५० वेडको स्वीकृति प्राप्त अस्पतालमा १ सय १० बेडको सेवा प्रदान गरिरहेको उनको दावी छ । उनले अस्पतालमा गुणस्तरीय सेवा बढाएकाले बिरामीको चाप बढेकोतर्फ ध्यान दिन आग्रह गरे ।
६÷७ वर्षअघि केही डाक्टरहरुको मात्रै सेवा पाइरहेका मकवानपुरबासीले हाल २५ जना डाक्टरहरुबाट सेवा लिइरहेको उनको भनाइ छ । सुधारका लागि काम गरिरहेकाले सबैले बुझ्दिनुपर्ने उनको भनाइ छ ।







