पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विरोध प्रदर्शन
हेटौंडा- पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा हेटौंडामा बिरोध प्रदर्शन भएको छ ।मंगलबार राप्रपा नेपाल निकट युवाहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा हेटौंडामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले राँके जुलुश निकाल्दै हेटौंडा बजारमा नाराबाजी गरेका थिए ।गठबन्धन सरकार मूल्यवृद्धि, मंहगी र भ्रष्टचार गर्नमात्र बनेको भन्दै ‘गठबन्धन सरकार मुर्दावाद’ को नारा लगाएका थिए । उनीहरुले गरेको राँके जुलुस प्रदर्शन हेटौंडाको सानो पोखरा, बुद्धचोक हुँदै कोणसभामा परिणत भएको थियो।
उनीहरुले सरकारले तत्काल मूल्यबृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । प्रदर्शनमा ‘राष्ट्रवादीहरु एक हौ, कालोबजारी मुर्दावाद, गठबन्धन सरकार मुर्दावाद, राप्रपा नेपाल जिन्दावाद, यो सरकार हो कि माफिया ?’ लगायत नाराहरु लगाइएको थियो । पछिल्लो पटक सरकारले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य बस्तुहरुमा भारी मूल्यबृद्धि गरेसंगै देशैभर विरोध प्रदर्शन भइरहेको छ ।







