समान शिक्षाको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र

साझाकुरा
२०७९ असार ९, बिहीबार १०:१३

हेटौंडा-नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरले सामुदायिक र नीजि विद्यालयको नाममा भइरहेको विभेदकारी शिक्षालाई समान शिक्षाको रुपमा लागू गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।बुधबार हेटौंडा उपमहानगरपालिकामा पुगेर अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विवेक घलान र उपाध्यक्ष सूर्यबहादुर गोलेको नेतृत्व समूहले ज्ञापनपत्र बुझाएको हो ।उनीहरुले शिक्षा क्षेत्रमा भएको विविध समस्याहरुको समाधान गर्दै संविधानतः निःशुल्क शिक्षा लागू गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा सामुदायिक र निजि विद्यालयको नाममा भइरहेको विभेदकारी शिक्षालाई समान शिक्षाको रुपमा लागू गर्नु राज्यको दायित्व भएता पनि राज्य सञ्चालकहरुले उक्त दायित्वबोध नगरेको उल्लेख गरिएको छ ।

त्यस्तै, नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत् धारा ३१ को उपधारा २ मा उल्लेख गरेअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा लागू गर्नसमेत जोड्दार माग गरेको छ । संविधानमै व्यवस्था गरेको शैक्षिक अधिकार तत्काल लागू गर्न, गराउन पहल नगरे अखिल (क्रान्तिकारी) कडा संघर्षमा उत्रिन बाध्य हुने कुरासमेत ज्ञापनपत्रमा उल्लेख गरेको छ । साथै दिन प्रतिदिन पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि घटाउन र अन्य उपभोग्य वस्तुमा देखिएको मूल्य बृद्धिको असर न्यूनीकरण गर्न तत्काल पहल गर्न पनि ज्ञापनपत्रमार्फत् उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । यसरी अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका अध्यक्ष ललित घलानद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*