हेटौंडामा समिन बेकरीको अवैध काम
हेटौंडा, ८ असार÷ हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित ओमनगरमा उद्योग रहेको समिन बेकरीले बजारमा अवैध तरिकाबाट बेकरी सामान निर्यात गरेको फेला परेको छ ।समिन बेकरी उद्योगको खोलमा एक महिनापछिको म्याद राखेर पाउरोटीलगायत बेकरी सामग्री बजारमा आइपुगेको हो । आज ८ असार अर्थात् अंग्रेजी मिति जुन २३ हो । तर, समिन बेकरीले करिब एक महिनापछिको ४ साउन अर्थात् अंग्रेजी मिति जुलाई २० को मिति राखेर पाउरोटीलगायतकोबेकरी सामग्री बजारमा पठाएको हो । समिन बेकरीले मंगलबार एक पसलमा एक महिनापछिको बेकरी पठाएको थियो भने सोही अवैध कार्यलाई बुधबार पनि निरन्तरता दिँदै उक्त पसलमा पुनः सोही मितिको पाउरोटी पठाएको हो ।
समिन बेकरीले दैनिक अवैध कार्य गरिरहँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडामा भने कानमा तेल हालेर बसेको छ । बजारमा अवैध तरिकाले बेकरी सामग्री आइरहँदा यसको नियमन गर्ने निकाय खाद्य कार्यालयलाई कुनै चासो नरहेको पाइएको हो । बजार अनुगमन नगर्दा बेकरी उद्योगको लापरबाही दैनिक रुपमा बढिरहेको छ ।
तर, खाद्य कार्यालयलाई कुनै चासो नहुँदा उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको हो । उपभोक्ताहरुको खाद्य अधिकारको संरक्षण गर्न तलब खाँदै आएका कर्मचारी बजार अनुगमनमा नहिँड्दा उपभोक्ताहरुको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको छ ।







