हेटौंडामा आज एक दिने ‘डेरी मेला’ हुँदै
हेटौंडा- हेटौंडामा आज शुक्रबार एक दिने ‘डेरी मेला’ हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल डेरी एशोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा आज एक दिने डेरी मेला गर्न लागेको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एशोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा बृद्धि गर्न प्रचार–प्रसार गर्न डेरी मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार हेटौंडा–२ को पल्पसा सदनमा आज बिहान १० बजेदेखि अपरान्न ४ बजेसम्म डेरी मेला रहने र त्यसपछि एशोसिएसनको साधारणसभा एवं अधिवेशन सुरु हुने छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्ने मेला तथा साधारण सभामा देशभरबाट डेरी व्यवसायीहरुको सहभागिता रहने एशोसिएसनले जनाएको छ ।







