थाहा नगरमा नमुना युवा नगरसभाको अभ्यास
हेटौंडा- पूर्वी मकवानपुरको थाहा नगरपालिकामा नमुना युवा नगरसभाको अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण भएको छ ।नगरपालिकाको आयोजना तथा जिल्ला युवा समिति कार्यालय मकवानपुरको संयोजनमा पटक आयोजना भएको नमुना युवा नगरसभाको अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । असार ५ गते आइतबार देखि सुरु भएको कार्यक्रममा ४ दिनसम्म नमुना नगरसभा सञ्चालन गरिएको थियो ।नमुना नगरसभालाई नगरसभा अध्यक्ष तथा नमुना युवा नगर प्रमुख बिस्मिता गोपालीले सञ्चालन गरेकी थिइन् । नमुना नगरसभामा उपाध्यक्ष ओमस प्रधानले बजेट वक्तव्य, विनियोजन विधेयक २०७८ र आर्थिक विधेयक २०७८ पेश गर्दै पारित भएको थियो ।
थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई युवा नीति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व विकास, युवा मार्गदर्शन, नगरपरिषद् तथा यसको संरचनालगायतका विषयवस्तुमा प्रशिक्षण प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष शिवहरि दाहालले जानकारी दिए ।अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लव गठन प्रक्रिया, स्थानीय योजना निर्माणका सात तहहरु र बस्तिस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि तथा गाउँ र नगरसभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा समेत राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रमको थाहा नगरपालिकाको नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, विभिन्न वडाका वडा अध्यक्षहरु, जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहाल, सामाजिक बिकास शाखाका प्रमुख अनिल लामिछाने, समाजसेवी बिमल कुमार ढकाल, शिक्षाबिद सानोभाइ कार्की, युवा अभियान्ता दिनेश कार्की, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानलगायतको उपस्थिति रहेको थियो ।







